
काठमाडौं । हालसम्ममा ५ वटा जीवन बीमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका १९ वटा जीवन बीमा कम्पनीमध्ये ५ वटाले आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर सार्वजनिक गरेका हुन् ।
नयाँ बोनसदर सार्वजनिक गर्नेमा प्राइम, महालक्ष्मी, ज्योति, रिलायन्स र मेटलाइफ इन्स्योरेन्स रहेका छन् । जसमध्ये मेटलाइफले सबैभन्दा बढी र प्राइम लाइफले सबैभन्दा कम बोनसदर घोषणा गरेका छन् । मेटलाइफले हालसम्म सार्वजनिक गरेको जीवन बीमालेखमध्ये केहीमा प्रतिवर्ष प्रतिहजार अधिकतम ८० प्रतिशतसम्म र रिलायन्सले पनि आफ्नो कुनै बीमालेखको बीमांकमा प्रतिवर्ष प्रतिहजार न्यूनतम १९ रुपैयाँ दिने घोषणा गरेका छन् ।
त्यस्तै, यी ४ वटा कम्पनीको तुलनामा महालक्ष्मी लाइफले घोषणा गरेको बोनसदर औषत रहेको छ । कम्पनीले सबै प्रकारका बीमितलाई धेरै भिन्नता नगरी औषतदरमा बोनस घोषणा गरेको देखिन्छ । कम्पनीले ल्याएको योजनामा प्रतिहजार बीमाङ्कमा वार्षिक न्युनतम ४० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर वितरण गर्ने भएको छ ।
मेटलाइफ
अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले आर्थिक वर्ष २०७६/७७ को नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४५ देखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ । उक्त बोनसदर १७ जुलाई २०१९ देखि १५ जुलाई २०२० सम्मको बीमाङ्कीय मूल्यांकन अनुसार निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमामा प्रतिहजार ६० देखि ८० रुपैयाँसम्म बोनसदर दिने भएको छ । यो योजनाको लागि १ देखि १५ वर्षसम्म अवधिको प्रतिहजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ र २१ वा सो भन्दा माथिको बीमालेखमा प्रतिहजार ८० रुपैयाँ बोनस दर तोकेको छ । त्यस्तै, शिक्षा संरक्षण बीमाका लागि १ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ र २१ वा सोभन्दा माथिको बीमालेखका लागि ८० रुपैयाँ नै तोकिएको कम्पनीले जानकारी गराएको छ ।
त्यसैगरी, अग्रिम भुक्तानी सावधिक नामको बीमालेखमा पनि बीमितले न्यूनतम ४५ देखि अधिकतम ६५ रुपैयाँसम्म पाउने छन् । उक्त बीमालेखमा १ देखि १५ वर्ष अवधिको ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ५५ रुपैयाँ र २१ वा सो भन्दा माथिको लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । साथै, यी बोनसदर मृत्यु दावी, समर्पण मूल्य दावी, चुक्ता मूल्य दावी, अवधि भुक्तानी दावी र चालू बीमालेखहरुमा लागू हुनेछ । यो बोनसदर बीमा समितिबाट अर्को व्यवस्था स्वीकृति नभएसम्म लागू हुने कम्पनीले जनाएको छ ।
रिलायन्स
रिलायन्स लाइफ इन्स्योरेन्सले पनि विभिन्न योजनामा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सावधिक बीमा योजनामा न्यूनतम ३० देखि ६० रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा ३० देखि ६० रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिकमा ४१ रुपैयाँदेखि ४५ रुपैयाँ बोनस निर्धारण गरिएको छ ।
त्यस्तै, वार्षिक अग्रिम भुक्तानी मुद्दति नियमित शुल्क बीमा योजनाका सबै अवधिमा २४ रुपैयाँ र एकल बीमाशुल्क ५४ रुपैयाँ तथा सामुहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ बोनस बीमितलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
महालक्ष्मी
महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रतिहजार बीमाङ्कमा वार्षिक न्युनतम ४० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनस दर वितरण गर्ने भएको छ ।
कम्पनीले ल्याएको बीमा योजनामध्ये महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा सबैभन्दा कम अर्थात ४० प्रतिशत बोनसदर तोकेको छ । त्यस्तै, २६ देखि ३० वर्ष अवधिको महालक्ष्मी सावधिक जीवन बीमा योजनाका बीमितले सबैभन्दा बढी अर्थात प्रतिहजार बीमाङ्कमा ५२ रुपैयाँसम्म बोनस पाउने छन् ।
महालक्ष्मी सावधिक जीवन बीमामा प्रतिहजार बीमाङ्कमा बीमितले न्यूनतम ५० देखि ५२ रुपैयाँसम्म बोनस पाउनेछन् । जसमा ५ देखि १५ वर्ष अवधिकोमा ५० रुपैयाँ, १६ देखि २५ वर्षकोमा ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बीमालेखमा ५२ रुपैयाँ बोनसदर तोकिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा, दुबै योजनाका लागि न्यूनतम ५० र अधिकतम ५१ रुपैयाँ बोनसदर तोकिएको छ । यी दुबै बीमालेखका लागि ५ देखि १५ वर्षसम्म अवधिको ५० रुपैयाँ र १६ देखि २५ वर्ष अवधिकोमा ५१ रुपैयाँ बोनस पाइने छ । महालक्ष्मी वार्षिक धनफिर्ता बीमाका सबै अवधिको लागि ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमाका पनि सबै अवधिको लागि ५० रुपैयाँ बोनसदर तोकिएको कम्पनीले जानकारी गराएको छ ।
प्राइम
प्राइम लाइफ इन्स्योरेन्सले विभिन्न योजनामा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखमा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस तोकेको छ । जसमा ९ वर्षसम्मको ३५, १० देखि १४ वर्षसम्मको ४०, १५ देखि १९ वर्षसम्मको ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको ५० रूपैयाँ र २५ देखि माथि अवधिको ७० रुपैयाँ बोनसदर तोकिएको छ ।
त्यस्तै, सावधिक तथा आजीवन बीमालेखको ९ वर्ष अवधिको ३६ रुपैयाँ, १० देखि १४ वर्षको ४५ रुपैयाँ, १५ देखि १९ वर्षको ५० रुपैयाँ, २० देखि २४ वर्षको ५७ रुपैयाँ र २५ देखि माथिको ७५ रुपैयाँ बोनस निर्धारण गरिएको छ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ४० देखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । जसमध्ये १० देखि १४ वर्षको ४० रुपैयाँ, १५ देखि १९ वर्षको ४८ रुपैयाँ, २० देखि २४ वर्षको ५५ र २५ देखि माथिको ७० रुपैयाँ बोनस तोकिएको छ ।
त्यस्तै, प्राइम जीवन उपहार योजना अन्तर्गतको अग्रिम भुक्तानीमा ३२ रुपैयाँ र सावधिकमा ४० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । साथै, अन्य योजना अन्तर्गतको म्यादी जीवन बीमामा भने कुनै पनि अवधिको लागि बोनसदर निर्धारण गरिएको छैन ।
ज्योति
ज्योति लाइफ इन्स्योरेन्सले २०७६ असार मसान्तसम्ममा जारी भएका नाफामा सारिक हुने बीमालेखहरुमा प्रतिहजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको हो ।
कम्पनीले सावधिक जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनस दर तोकेको छ ।
त्यस्तै, सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनस दर तोकेको छ ।
त्यसैगरी, अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।
इन्स्योरेन्स कम्पनीहरूले २०७६ असार मसान्तसम्ममा जारी भएका नाफामा सारिक हुने बीमालेखहरुमा नयाँ बोनसदर दिने घोषणा गरेका हुन् । कम्पनीले उक्त आवको आर्थिक लेखाजोखा तथा दायित्व मुल्याङ्कन गरी कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनसदर दिने घोषणा गरेका हुन् । सो प्रतिवेदनलाई बीमा समितिले स्वीकृत गरिसकेकाले सम्बन्धित कम्पनीहरुले नयाँ बाेनसदर सार्वजनिक गरेका हुन् ।