काठमाडौं । बीमा समितिले नन्ट्यारिफ बीमाको न्यूनतम प्रिमियम तोकेको छ । समितिले तोकेको न्युनतम प्रिमियम यसअघि कार्यान्वयनमा रहेकोभन्दा बढी भएको छ ।
नन् ट्यारिफ बीमामा कम प्रिमियम लिएर अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि न्यूनतम प्रिमियम तोकिएको समितिको भनाई छ । यसअघि समितिले नन् ट्यारिफ बीमाको प्रिमियम तोक्ने गरेको थिएन । समितिले अहिले तोकेको प्रिमियम यसअघि कम्पनीहरुले लिने गरेको प्रिमियमभन्दा बढी भएको एक निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।
‘समितिले नन् ट्यारिफ बीमाको न्यूनतम प्रिमियम तोकेको छ, यसअघि कम्पनीहरुले आफै प्रिमियम तोक्ने गरेका थिए, प्रतिस्पर्धाको कारण पहिला अलि कम भएको प्रिमियम समितिले एकरुपता कायम गर्दा अलि बढेको छ, अहिले तय भएको प्रिमियम ८ देखि १० वर्ष अगाडि कायम भएको प्रिमियम बराबर हो,’ ती प्रमुख कार्यकारी अधिकृतले विकासन्युजसँग भने ।
समितिले भने केही बीमा कम्पनीहरुले कम प्रिमियम लिएर बीमा गराउने गरेका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा देखिएको बताएको छ ।
‘केही ठूला कम्पनीहरुले कम दरको प्रिमियम लिएर बीमा गराउने गरेको पाइयो, यस्तो कार्यले पुनर्बीमा गराउन समस्या हुनेदेखि बजारमा विभिन्न प्रकारका समस्या सिर्जना भए, त्यसैकारण बिमक संघसँगको समन्वयमै न्यूनतम प्रिमियम तोकिएको हो,’ समितिका एक अधिकारीले भने ।
अब कुन बीमामा कति प्रिमियम ?
समितिले तोकेको न्यूनतम प्रिमियम अनुसार अबदेखि प्लेट ग्लास जस्ता सार्न मिल्ने बस्तुको बीमा गराउँदा बिमांक रकमको २ प्रतिशत र सार्न नमिल्ने वस्तुहरुको बीमामा बिमांक रकमको १ प्रतिशत बीमा शुल्क तिर्नुपर्ने भएको छ ।
यस्तै, चोरी ढकैती बीमामा घर फुटाएर चोरी हुने विरुद्ध बीम गराउँदा जोखिम हेरेर बिमांक रकमको १ देखि ५ प्रतिशतसम्म प्रिमियम तिर्नुपर्ने भएको छ । सुन तथा गरगहना पसलको बीमा गराउँदा बिमांक रकमको ५ प्रतिशतसम्म प्रिमियम तिर्नुपर्ने भएको हो ।
मनी पोलिसी अन्तरगत एक ठाउँबाट अर्काे ठाउँमा रकम लैजानेले प्रतिहजार रुपैयाँमा १ रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । तर, बैंक तथा वित्तीय संस्थाहरुको लागि भने बेग्लै पोलिसी हुने हुँदा यो शुल्क लाग्दैन ।
