हामीले हाइड्रो इन्स्योरेन्स भन्दा प्रत्येक्ष रुपमा धेरै कुरा देख्दैनौं होला । त्यसभित्र धेरै कुराहरु हुन्छन् । पहिला त हामीले हाइड्रो इन्स्योरेन्स अन्तर्गत के के पर्छन्, हाइड्रोलाई कसरी बीमाको दायराभित्र ल्याउने भन्ने बुझ्नु पर्छ ।
वास्तवमा इन्स्योरेन्स गर्दा खोला हेरेर गर्नुपर्छ । बीमा गर्ने अन्डरराइटरलाई के ज्ञान हुनुपर्यो भने यो खोला कस्तो नेचरको हो, रन अफ रिभर नेचरको हो कि के हो, त्यसमा पनि हिमालयमा मुहान भएको खोला या नदी हो वा होइन । खोलामा कति पानी बग्छ ? कस्तो क्षेत्र हो ? यी सबै हेरेर मात्रै बीमा गर्नुपर्छ ।
उदाहरणको रुपमा हेरौं, पोखरामा बग्ने सेती र काली गण्डकी नदीको जल प्रवाह हिमालय नेचरको छ । तर, बागमती नदी त्यो नेचरको होइन । बागमतीमा हिउँ पग्लेर आउने ठाउँ छैन ।
यही अनुसार त्यो क्षेत्रको जोखिमहरु निर्धारण गर्न सकिन्छ । कस्तो क्षेत्रमा छ ? त्यहाँको माटो कस्तो छ ? रक स्ट्रक्चर कस्तो छ ? त्यसमा भर पर्छ । त्यसको बनाउने प्रविधि के हो भन्ने कुराले पनि अर्थ राख्छ । जस्तो कि अन्डरग्राउण्ड अर्थात जमिन मुनि बनाउने हो कि, जमिन माथि बनाउने हो ? यसले पनि जोखिम निर्धारण गरेको हुन्छ ।
विभिन्न प्रोमोटरहरु बने, आए, कम्पनी दर्ता भयो, हाइड्रोको लाइसेन्स लियो, अब हाइड्रो बन्न पर्यो । अब यसलाई के अन्तर्गत राख्ने भन्दा प्रोजेक्ट इन्स्योरेन्स अन्तर्गत राख्नुपर्छ । भन्न त नेपालमा इन्जिनियरिङ्ग बीमा भन्ने चलन छ । तर, मेरो भाषामा त्यो प्रोजेक्ट इन्स्योरेन्स हो ।
हाइड्रो भनेकै एउटा प्रोजेक्ट हो, त्यसलाई कसरी सञ्चालन गर्ने भनेर विभिन्न प्रकारका पक्ष वा बस्तुहरुको बीमा गराउनुपर्छ । हाइड्रोमा सिभिलको पनि बीमा गराउनु पर्छ, काम गर्ने कामदारको पनि, मेकानिकल टुल्सहरु, कन्स्ट्रक्सन इक्यिुप्मेन्ट प्लान्टहरुको पनि बीमा गराउनुपर्छ । त्यसपछि सामान राख्ने हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल लगायतका विभिन्न खण्डको बीमा गर्नुपर्छ । अब ट्रान्समिसन लाइन आयो, त्यसको पनि बीमा हुन्छ ।
सामान्यतः हाइड्रोमा सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकल गरी तीन प्रकारका बीमा गराउनुपर्छ ।
जस्तै, हालै मेलम्ची, मादी र मर्स्याङ्दी नदीमा ठूलो बाढी आयो । ठूलो बेल्टहरु हानेको छ, जुन सबै एउटै पेरिफेरीमा हानेको छ । मेलम्ची र मादीको रेञ्ज हेर्ने हो भने एउटै छ । पानी पर्ने पनि एउटा लेभल मेन्टेन भएको रहेछ । मेकानिकल इन्जिनियरका अनुसार हिमालमा स्नो लेभल बढ्यो । हिउँ पर्दा सबै एकै लेभलमा परेको हुन्छ । तल माथि तल माथि गर्दै पर्दैन । एउटै लाइन देखिन्छ । स्नो लेभल अलि माथि जाँदा पानीको लेभल पनि बढ्यो । जहाँसम्म जान्छ, त्यहाँ हिउँ पर्छ, त्यो भन्दा तलको भागमा पानी हुनु पर्यो । हिउँ र जमिनको इन्टरर्याक्सन हुन्छ, वर्षौसम्म इन्टरर्याक्सन भएर कुनै प्वालभित्र पानी गएर हिउँ बन्यो भने त्यो ठूलो एक्स्पान्सन हुन्छ भनिन्छ । यसले जमिनलाई विस्तारै फुकाउँछ । हिउँसँगसँगै पानीको लेभल पनि धेरै माथि पुगेकोले पानी धेरै पर्दा पहिलेदेखि बनेका प्वालहरु भत्काएर ल्यायो, त्यसैले सबै नदीमा लेदोसहितको बाँढी आयो भन्ने कुराहरु आजको दिनमा गरिएको छ । समग्रमा हिमालबाटै त्यस्ता लेदोहरु बगेर आए, जुन हजारौं वर्षौदेखि खिइएर बसेका थिए भन्ने बुझिन्छ ।
हाइड्रो इन्स्योरेन्सको अन्डरराइटरलाई म केको जोखिम ग्रहण गर्दैछु भन्ने ज्ञान हुनु पर्यो । नेपालमा बीमा कम्पनीहरुमा काम गर्ने प्रुडेन्ट अन्डरराइटरहरु छन् त भन्ने प्रश्न पनि उब्जने गरेको छ । तिनीहरुले बीमा गर्नुभन्दा अगाडि बीमा गर्ने सम्पत्ति, प्लान्ट एण्ड मेसिनरीको कुरालाई हेरेर के के समस्या आउँन सक्छ भनेर त बीमा गरेका छैनन् । किन गरेका छैनन् भने सबै टार्गेट बेसका कम्पनीहरु छन् । सबै प्रिमियम, नाफा र बोनसमै केन्द्रित छन् । कम्पनी राम्रो हुनको लागि कसले कति प्रिमियम कमायो, कसले कति नाफा कमायो, कसले कति बोनस दियो भन्ने हुन्छ कि कसले समयमै प्रिमियम तिर्यो भन्ने हुन्छ । बीमा कम्पनीको मापक प्रिमियम धेरै कमाउने होइन, जनतालाई परेको बेला डेलिभर गर्न सक्नु पर्यो । समयमै क्लेम तिरेर त्यसको डेलिभर गर्न सक्नु पर्यो ।
हाल जति पनि बीमा कम्पनीहरु छन्, तिनीहरुले समयै दावी भुक्तानी गरेका छैनन् । हामी जसले बढी प्रिमियम संकलन गरेका छन् त्यहि कम्पनीको बढी वाइवाइ गर्दै हिड्छौं । वास्तवमा त्यो होइन । हामीले जसले समयमै बिमितलाई दावी भुक्तानी गर्छ, उसकै वाइवाई गर्ने हो, उही नै राम्रो कम्पनी हो ।
नेपालमा बीमा कम्पनीलाई मुल्याङ्कन गर्ने इन्डेक्स रेटिङ्गहरु छैनन् । अब रेटिङ्गहरु बनाऔं । कम्पनी कम्पनी गएर उनीहरुको बोलीचालीदेखि कम्पनीको पर्फर्मेन्ससम्ममा रेटिङ्ग गर्दै एउटा इन्डेक्स बनाईयो भने बल्ल त्यो कम्पनीको वास्तविक क्षमता कति हो थाहा हुन्छ । यसले भोलि सेयर बजारमा पनि असर पार्छ । त्यसैले बीमा कम्पनीलाई स्वस्थ र स्फूर्त बनाउन पहिले रेटिङ्ग जरुरी छ ।
बीमा कम्पनीमा विश्वास भएन । उनीहरु बसका टिकटका काउन्टरजस्ता भए । अझ बस टिकटका काउन्टरहरु राम्रा होलान् । बीमा कम्पनीका कर्मचारीहरुले बोलीचालीमा शिष्टता सिक्न धेरै बाँकी छ ।
अब हाइड्रो इन्स्योरेन्समै हेर्दा, हाइड्रो सामान्यतः पानी भन्छौं, त्यो पानी बगेर आएर फ्याक्ट्रीमा ठूलो मेसिन घुमाएको छ । एकैछिन बत्ती आएन भने अफिसको काम ठप्पै हुन्छ । यतातिर हामीले हेरेका छैनौं, खाली प्रिमियम कति आउँछ, क्लेम नपर्दे हुन्थ्यो, परेपछि कसरी नदिने जस्ता षड्यन्त्रहरु भइरहेका छन् ।
आजको बजार के छ भने कसले सस्तो दिने भन्ने छ । इप्पानलाई पनि यसमा खासै मतलब भए जस्तो देखिएन । किनभने उसले पनि समस्या समाधानको लागि पहल गर्ने तत्परता देखाएको छैन । इप्पानलाई आफूहरुको आवश्यकता के हो भन्ने नै थाहा छैन । उनीहरुलाई प्रिमियम सस्तो भइदिए हुन्थ्यो भन्ने एउटा मात्रै ध्याउन्न छ । सबैले बुझ्नु पर्ने कुरा के हो भने प्रिमियम सस्तो हुनु भनेको कुनै न कुनै जोखिम रक्षावरणबाट बाहिरै रहनु हो । जोखिमको रक्षावरण हुँदैन भने त्यस्तो बीमाको अर्थ के हुन्छ र । यता बीमा कम्पनीहरुले त आफ्नो व्यापार गर्छन् । उनीहरु टिक्नलाई जस्तै काम पनि गर्छन् ।
बीमा भनेको आधारभूत आवश्यकता हो । अहिले बैंक नभएपनि चल्छ, साथीभाइसँग सरसापटी मागेर सानो घर बनाउनदेखि कम्पनी खोल्नसम्म सकिन्छ । तर, त्यो कम्पनीको जोखिम साथीभाइले ग्रहण गरिदिँदैनन् । त्यसैले, बीमा त बैंकभन्दा ठूलो हो । र, पनि बीमामा जनताको आकर्षण छैन । बैंकहरुमा जस्तो करोडौं रुपैयाँ सीईओले खाने भएको भए यता आकर्षण बढ्थ्यो । मेरो अनुभवमा बीमामा आकर्षण नबढ्नुको कारण मैले कसैको बीमा गरिदिएँ भने उसले कम्पनी चिन्दैन, मैले फलानाको छोरा, फलानाको छोरीसँग बीमा गराएँ भन्दै हिड्छ । त्यसैले, पहिला आकर्षण बढाएपछि मात्रै नागरिकले कम्पनी चिन्छन् ।
हाइड्रोको बीमा गर्दा पहिला हामी सिभिलको बीमा गर्छौं । दोश्रो, हाइड्रो मेकानिकलको गर्छौं । तेश्रो, इलेक्ट्रोमेकानिकलका गर्छौं । चौंथो, इक्युप्मेन्ट (उपकरण) हरुका बीमा गर्छौं । अनि पाँचौंमा काम गर्ने कामदारका पनि गर्छौं ।
मानौं, तपाईंको हाइड्रो काठमाडौंबाट १२५ किलोमिटर टाढा दोलखामा छ । त्यहाँ सिमेन्ट, छड लगायतका सामाग्रीहरु दिनदिनै किनिदैन । निश्चित समयको लागि स्टक राख्नुपर्छ । त्यो स्टक पनि बाढी आएर बगाएर लान सक्छ । त्यसको पनि बीमा गर्नुपर्यो । आजको दिनमा अधिकांश हाइड्रोवालाहरुले प्रोजेक्ट इन्स्योरेन्स अन्तर्गत स्टकको बीमा गरेका छैनन् । अब यो गर्नुपर्यो ।
हाइड्रो बन्ने नै खोलाको किनारमा हो । त्यहाँ माथिबाट डेब्रिज आउन सक्ने सम्भावना बढी हुन्छ । जसले फोहोर मैला, ठूला ठूला ढुङ्गामुढा ल्याउँछ । तपाईंको पावर हाउस लगायत ड्याम बन्दै गरेको ठाउँमा ठूला ठूला ढुङ्गामुढा आएर बसे भने त्यसलाई हटाउनै पर्यो, एउटा ढुङ्गा फुटाउँदा लाखौं रुपैयाँ लाग्ने पनि देखिए । त्यो ढुङ्गा फुटाएर अन्त सार्न पनि पैसा चाहिन्छ । यस्तो पैसा दिने भनेकै बीमाले हो । त्यसैले बिमितले यो सुविधा पाउने कि नपाउने ? जसलाई हामी डेब्रिज रिमुभेबल भन्छौं ।
अहिले बीमा कम्पनीहरुमा डेब्रिज रिमुभेबललाई लोकल र फरेन भनेर बनाएका छन् । फरेन डेब्रिज भनेको बाहिरबाट आएको र लोकल भनेको त्यहि बन्दा बन्दै भत्किएर भग्नावशेष भएको ।
त्यस्तै, तेस्रो पक्ष बीमामा पनि प्रपर्टी र लाइफको पनि कभरेज हुनुपर्यो । जुन अहिले साह्रै न्यून छ । अब यो रिक्स बहन गर्न किन आवश्यकता छ भने हाइड्रो भन्ने बित्तिकै सुरुङ् पनि सँगै आउँछ । सुरुङ् कसरी बनाउने, माटोको प्रकृति कस्तो छ, त्यहाँभित्र ब्लास्ट गर्दा माथि पहाडका घरहरु ध्वस्त हुन सक्छन् कि सक्दैनन् । यो सबै विषयमा अन्डरराइटरले हेर्नुपर्यो ।
हामी साइडमा नगई बीमा गर्छौं भने कसरी थाहा पाउँछौं, त्यहाँको स्ट्रक्चरहरु । त्यसले हामी साइडमै जान आवश्यक छ ।
अहिले सुरुङ खन्नलाई टनेल बोरिङ्ग मेसिन भन्ने हुन्छ । जसलाई हामी छोटकरीमा टीबीएम भन्छौं । यसको बीमा गराउँदा नेचर के हो, यसको जोखिम के के हो, कस्तो बेलामा बिग्रिन सक्छ लगायतका विषयमा अन्डरराइटरले बुझ्नु पर्छ । बीचमा सुरुङ खन्दा खन्दै मेसिन बिग्रियो भने यसलाई निकाल्न साइडबाट पुनः अर्को सुरुङ खनेर मान्छे पसेर बनाउनु पर्छ । यसो गर्दा धेरै नै खर्च लाग्छ । यस्तो खर्च दिने कि नदिने भन्ने पनि पोलिसी हुन्छ । यहाँ कम्पनीहरु हावाको भरमा चलिरहेका छन् ।
कतिपय अवस्थामा कम्पनीहरुले लस मिनिमाइजेसन क्लज नराखी क्लेम दिइरहेका छन् । दिनुपर्छ भन्ने ज्ञानले भन्दा पनि सोर्सफोर्सले काम गरिरहेको हुन्छ ।
एउटा अब हाइड्रोको अन्डराइटरले सिक्छु भन्ने चाहना हुनुपर्यो, तपाईं काम गर्नु भएको छ की जागिर खानु भएको छ भन्नेमा भर पर्छ । यदि, काम गर्ने मान्छेसँग गएर तपाईंले बीमा गराउनु भयो भने उसले सहि पोलिसी बेच्छ । तपाईंको आवश्यकता पहिचान गर्न उसले सहयोग गर्छ । तर, जागिर खाने मान्छेसँग जानुभएको छ भने उसले ठगठाग पार्छ, यताउती गर्छ, साहूँ रिझाउँछ, तलब लिन्छ, आफ्नो बाटो लाग्छ ।
बनिसकेको प्रोजेक्टलाई बीमा गर्दा आजको दिनमा नेपालको सम्पत्ति निर्देशिकाले काम गर्छ । सम्पत्ति निर्देशिकामा बनिसकेको प्रोजेक्टलाई बनाउन मिल्छ भनिएको छ । हालै उक्त निर्देशिकामा केही हेरफेर भएको छ ।
यता सम्पत्ति बीमामा कहाँनेर हाइड्रो कम्पनीहरु चुकिरहेका छन् भने तपाईंको हाइड्रो ४ वर्षमा बन्छ भनेर काम लगाईयो, ठेक्का दिईयो । तर, यस्तै कोभिड, राजनितिक जस्ता विभिन्न समस्याका कारण ४ वर्षमै त बन्दैन । बाँकी सबै काम बनिसक्यो, तर टेस्टिङ्गको काम बाँकी छ, जसको लागि ईएम सप्लाई गर्ने र विद्युत प्राधिकरणबीचको कामले केही समय धकेलियो भने यो अवस्थामा बीमा कम्पनीहरुले पहिलाकै प्रोजेक्ट बीमालाई थप समयको लागि म्याद बढाउनु पर्ने हुन्छ । तर, यहाँ हाइड्रोहरु बनिहाल्छ भनेर सम्पत्ति बीमामा गइदिन्छन् । यसले गर्दा बीमा कम्पनीले क्लज लाईदिन्छ, कमा, फुलस्टपका खेलहरु खेल्छ । अनि कमर्शियल उत्पादन नभई माथि जे भनिए तापनि दावी भुक्तानी दिन कम्पनी बाध्य हुने छैन भनेर तल पुच्छर झुण्डाई दिन्छन् । अब रेगुलेटरलाई हामीले प्रत्यक्ष भन्न नमिल्ला तर उहाँहरु पनि सचेत हुनुपर्छ ।
(बीमा विज्ञ पराजुलीसँग गरिएको कुराकानीमा आधारित)