मध्यान्नमा १०४ अंकले घट्यो नेप्से, आत्तिए लगानीकर्ता

<p>काठमाडौं । सोमबार ७० अंकले घटेको सेयर बजारको परिसूचक मंगलबार मध्यान्नमा १०४ अंकले घटेको छ । बैंकहरुले निक्षेपको व्याजदर ११ प्रतिशतभन्दा बढी पुर्याएपछि सेयर बजार लगातार दोस्रो दिन पनि राताम्य भएको छ । साढे १ बजे नेप्से परिसूचक २४८३ मा झरेको छ । बजार खुलेदेखि सेयरकाे मूल्य निरन्तर घटेको छ । प्रतिशतका आधारमा ४.०४ प्रतिशतको [&hellip;]</p>

काठमाडौं । सोमबार ७० अंकले घटेको सेयर बजारको परिसूचक मंगलबार मध्यान्नमा १०४ अंकले घटेको छ । बैंकहरुले निक्षेपको व्याजदर ११ प्रतिशतभन्दा बढी पुर्याएपछि सेयर बजार लगातार दोस्रो दिन पनि राताम्य भएको छ ।

साढे १ बजे नेप्से परिसूचक २४८३ मा झरेको छ । बजार खुलेदेखि सेयरकाे मूल्य निरन्तर घटेको छ । प्रतिशतका आधारमा ४.०४ प्रतिशतको गिरावट छ । अहिलेसम्म २ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

१८७ कम्पनीको धितोपत्र कारोबार भएकोमा १८३ कम्पनीको धितोपत्रको मूल्य घटेको छ भने ३ वटा कम्पनीको सेयरमा सामान्य वृद्धि देखिएको छ । मनास्लु लघुवित्त, किसान लघुवित्त, बोटलर्स नेपालको मूल्यमा सामान्य वृद्धि रहेको छ ।

सेयर कर्जाको सीमा ४ करोड र १२ करोड बनाएपछि ठूला लगानीकर्ता आत्तिएर सेयर बिक्री चाप बढेको र अहिले समग्रमा बजार घटेपछि साना लगानीकर्ता पनि आत्तिएर सेयर बेच्ने अवस्थामा पुगेको नेपाल इन्भेष्टर्स फोरममा निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले बताए ।

सेयर बजारमा अहिलेको गिरावट अस्थायी भएकोले छिट्टै मूल्यवृद्धि हुने एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘अरु देशमा सेयर बजारको परिसूचक ४० हजार/५० हजार छ । नेपालमा २५ सय मात्र छ । विदेशका बैंक बीमा कम्पनीले दिने लाभांश दर भन्दा नेपाली बैंक बीमा कम्पनीले दिने लाभांश दर पनि कम छैन’ उनले भने ‘अहिले बजार घट्नु सामान्य होइन । छिट्टै बजारमा बढोत्तरी आउने देख्छु म ।’

बजार घट्यो भनेर लगानीकर्ता आत्तिनु पर्ने अवस्था नभएको उनले बताए । ‘कम्पनीहरुले विजनेश राम्रो छ । लाभांश दर पनि राम्रो छ । बैंकहरुले बोनस सेयर वितरण गरिरहेका छन् । लगानीकर्ता आत्तिनु पर्ने अवस्था छैन’ उनले भने–‘बैंकको व्याजदर वृद्धि हुँदैमा सेयर बजारलाई धेरै असर गर्दैन ।’

Share News