काठमाडौं । बुधबारको सेयर बजार ६० अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि उकालोको यात्रा तय गरेको बजार अन्त्यमा पनि निरन्तर रुपमा बढेर बन्द भएको हो ।
यससँगै सेयर कारोबार मापक गर्ने नेप्से परिसूचक ६०.५६ अंकले बढेर २५७१.६६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.४१ प्रतिशतले बढी हो ।
बजारमा परिसूचकमा सुधार देखिएता पनि कारोबार रकम भने घटेको छ । बुधबार कूल २ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ९६ करोड रुपैयाँले घटी हो । अघिल्लो दिन अर्थात मंगलबारको बजारमा ३ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ९ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १४६० रुपैयाँ रहेको छ ।
त्यस्तै, दोश्रो र तेश्रोमा रहेका हिमालयन डिष्टिलरी र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको क्रमशः ७ करोड ८१ लाख र ७ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारमा कूल ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये अरुण भ्याली हाइड्रो, यूनिभर्सल पावर कम्पनी र मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ ।
दिनभरको कारोबारमा मिथिला, एनआईसी एशिया र साधना लघुवित्त वित्तीय संस्था बाहेक अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।
बुधबार कारोबारमा आएका सबै समूह हरिया देखिएका छनु । कारोबारमा आएका १३ वटा समूहमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २४८.१० अंकले उकालो लागेको छ ।