काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले उकालो लागेकोे छ । कारोबार शुरु भएदेखि उकालोको बाटो तय गरेको नेप्से परिसूचक अन्त्यमा २७.५१ अंकले उकालो लागेर बन्द भएको छ ।
समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक १.०८ प्रतिशतले बढेर २५८४.५२ बिन्दुमा पुगेको छ । त्यस्तै, क वर्गको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.२४ अंकले बढेर ४९०.६८ बिन्दुमा पुगेको छ ।
परिसूचकसँगै सेयर कारोबार पनि बढेको छ । गत बिहीबार २ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार भने २ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नियमित समयसम्म भएको कारोबारमा २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता सेयर खरिद बिक्री भएका छन् ।
जसमध्ये सबैभन्दा बढी आईसीएफसी फाइनान्सको सेयर कारोबार भएको छ । संस्थाको एकैदिन १५ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ७०९ रुपैयाँमा भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको ९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार ट्रेडिङ्ग समूह बाहेक कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूह १०५ अंकले बढेको छ । ट्रेडिङ्ग समूह भने ३२.४७ अंकले घटेको छ ।
दोहोरो अंकले बढेको बजारमा दुई संस्थाको सेयर मूल्यमा सर्किट लागेको छ । बेष्ट फाइनान्स र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता ४४१ र ६८० रुपैयाँ पुगेको छ ।
बेष्ट फाइनान्स सहि ट्रयाकमा, सेयर मूल्य १० प्रतिशतले वृद्धि
आइतबार मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको भने सेयर मूल्य १० प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य १० प्रतिशत अर्थात १६९.५० रुपैयाँले घटेर प्रतिकित्ता १५२५.६० रुपैयाँमा झरेको छ ।