काठमाडौं । सरकारले कृषि बीमाको लागि बर्सेनि ठूलो परिमाणमा रकम खर्च गर्ने भए पनि आपतको बेलामा किसानले बीमाबाट राहत पाउन सकेका छैनन् । यो वर्ष कात्तिकमा परेको पानीका कारण ८ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको धानबालीमा क्षति पुगेपनि बीमा नगरिएको कारण किसानले बीमा कम्पनीबाट क्षतिपूर्ति पाउने अवस्था छैन ।
कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार कात्तिक पहिलो साताको बेमौसमी बर्षाको कारण ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ । तर, बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार अहिलेसम्म जम्मा १४ लाख ९० हजार रुपैयाँ बराबरको मात्रै दाबी परेको छ ।
यसरी परेको दाबीमध्ये दि ओरेन्टल इन्स्योरेन्स कम्पनीमा धानबालीको बीमा गराएका किसानले ८ लाख १५ हजार रुपैयाँ बराबरको दाबी गरेका छन् । यस्तै, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा बीमा गराएका किसानले धानबालीमा क्षति पुगेको भन्दै ६ लाख ७५ हजार रुपैयाँ दाबी गरेका छन् ।
बीमा समितिका अनुसार गत आर्थिक वर्षमा ४२ अर्ब ४९ करोड रुपैयाँ बराबरको बाली तथा पशुपन्छी बीमा भएको थियो । यस्तो बीमाबाट बीमा कम्पनीहरुले १ अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
सरकारले गत आर्थिक वर्षसम्म कृषि बीमामा लाग्ने प्रिमियममा ७५ प्रतिशत अनुदान दिने गरेको थियो । यसरी अनुदान दिदा सरकारले गत आर्थिक वर्षमा १ अर्ब ४२ करोड रुपैयाँ अनुदान दिएको थियो भने बाँकी ४८ करोड रुपैयाँ बीमा शुल्क (प्रिमियम) किसानले तिरेका थिए ।
बाली तथा पशुपन्छी बीमाको दायरा फराकिलो देखिए पनि यसमध्ये पशुपन्छीको बीमा धेरै र बाली बीमाको हिस्सा कम देखिएको छ । बीमा समितिका अनुसार ४२ अर्ब ४९ करोड रुपैयाँ बराबरको बाली तथा पशुपन्छी बीमामा ३९ अर्ब ५३ करोड रुपैयाँ बराबरको पशुपन्छीको बीमा र जम्मा २ अर्ब ८६ करोड रुपैयाँ बराबरको बाली बीमा भएको छ । यसपाली कात्तिकको बर्षाको कारण धानमा क्षति पुगेको भन्दै क्षतिपूर्ति दाबी गरिएको १४ लाख ९० हजार रुपैयाँ बाली बीमा अन्तरगतको हो ।
बाली बीमामा आकर्षण किन कम ?
बाली बीमा गर्नको लागि आवश्यक पूर्वाधार नहुँदा किसानले बीमाबाट लाभ लिन नसकेको विज्ञले बताएका छन् । पहिलो त बीमा कम्पनीसम्म किसानको पहुँच नहुने, बीमा कम्पनीहरुले कृषि बीमामा झन्झट बढी छ भन्दै बीमा गराउन तर्किने र किसानमा बीमाबारे जानकारीको कमी जस्ता कारणले पनि कृषि बीमाको दायरा अपेक्षाकृत विस्तार हुन नसकेको हो ।
मौसम सुचक (वेदर इन्डेक्स) नहुँदा मौसमी असरबाट बालीनालीमा हुने क्षतिको बीमा गर्न समस्या भइरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् ।
‘कृषि तथा बाली बीमा गर्नको लागि हामीले कम्पनीहरुलाई ताकेता गरिरहेका हुन्छौं, कम्पनीहरुलाई जिल्ला नै तोकेर यो जिल्लाको बीमा यो कम्पनीले गर्नै पर्छ भनिएको पनि छ तर, वेदर इन्डेक्स छैन, त्यसैले मौसमी असरका कारण हुने क्षतिको बीमा गर्न गराउन समस्या भइरहेको छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।
बेमौसममा परेको पानीका काराण धानबालीमा क्षति पुगेका किसानलाई राहत दिन सरकारले राहत प्याकेज ल्याउने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाले दिइसकेका छन् । तर, अहिले क्षति पुगेको धानबालीको बीमा गरिएको हुने थियो भने किसानले धेरै क्षति व्यहोर्नु पर्ने थिएन भने सरकारले राहत दिनुपर्ने अवस्था पनि आउने थिएन ।
सम्बन्धित समाचार