काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
नयाँ बोनसदर अनुसार कम्पनीले विभिन्न योजनामा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने भएको छ । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखमा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस तोकेको छ । जसमा ९ वर्षसम्मको ३५, १० देखि १४ वर्षसम्मको ४०, १५ देखि १९ वर्षसम्मको ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको ५० रूपैयाँ र २५ देखि माथि अवधिको ७० रुपैयाँ बोनसदर तोकिएको छ ।
त्यस्तै, सावधिक तथा आजीवन बीमालेखको ९ वर्ष अवधिको ३६ रुपैयाँ, १० देखि १४ वर्षको ४५ रुपैयाँ, १५ देखि १९ वर्षको ५० रुपैयाँ, २० देखि २४ वर्षको ५७ रुपैयाँ र २५ देखि माथिको ७५ रुपैयाँ बोनस निर्धारण गरिएको छ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ४० देखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । जसमध्ये १० देखि १४ वर्षको ४० रुपैयाँ, १५ देखि १९ वर्षको ४८ रुपैयाँ, २० देखि २४ वर्षको ५५ र २५ देखि माथिको ७० रुपैयाँ बोनस तोकिएको छ ।
त्यस्तै, कम्पनीले प्राइम जीवन उपहार योजना (पीजेयूपी) मा ७२ रुपैयाँ बोनसदर तोकेको छ । जसमध्ये पीजेयूपीमा ३२ रुपैयाँ र पीजेयूपी आईआईमा ४० रुपैयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
यसअघि कम्पनीले सावधिक जीवन बीमालेखका बीमितलाई न्यूनतम ३५ रुपैयाँदेखि ६५रुपैयाँसम्म मात्रै बोनस दिँदै आएको थियो । त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म मात्रै बोनस दर वितरण गरेको थियो ।