काठमाडौं । गत साताको शुरुवातदेखि नै लगातार बढेको सेयर बजारमा आज करेक्सन लागेको छ । पछिल्लो समद दैनिक दोहोरो अंकले बढ्दै आएको नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ ।
कारोबारको शुरुवातमा उकालो लागेको बजारले केही समयपछि ओरालोको बाटो तय गरेको थियो । अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८७ बिन्दुमा सीमित भएको छ ।
आइतबारको तुलनामा सोमबारको कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ ।
बजारमा २२६ कम्पनीको १ करोड ३४ लाख कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ३६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारसँगै बैंकको सेयर मूल्य २७ रुपैयाँले बढेर प्रतिकित्ता ६९५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा आरएमडीसी लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको एकैदिन ३६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
दोहोरो अंकले घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, साहस उर्जा र पाँचथर पावर कम्पनी दुबैको सेयर मूल्य ९.९८ र ९.९८ प्रतिशतले बढेको छ । यी तीनको अन्तिम कारोबार क्रमशः ६५७, ४९० र ५१५ रुपैयाँमा भएको छ ।
बजारमा सबैभन्दा बढी कामना सेवा विकास बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य ६.७२ प्रतिशतले घटेर प्रतिकित्ता ६८० रुपैयाँमा झरेको छ ।
सोमबार बैंकिङ्ग, होटल्स एण्ड टुरिजम र इन्भेष्टमेन्ट समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।