काठमाडौं । हालै आईपीओ जारी गरेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कार्त्तिक १६ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुुक्ता पुँजीको सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने छ ।
साविक मनकामना लघुवित्त वित्तीय संस्था र साविक स्मार्ट लघुवित्त वित्तीय संस्थाबीच मर्जर कार्य सम्पन्न भई एकीकृत कारोबार गरेकाले घोषित लाभांशमा कर छुटको व्यवस्था रहेको छ । सोहि कारण संस्थाले कर प्रयोजनको नगद लाभांश नछुट्याएको जानकारी गराएको छ ।
हाल संस्थाको चुक्ता पुँजी १२ करोड ११ लाख रुपैयाँ रहेको छ । १७ प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी १४ करोड रुपैयाँ नाघ्ने छ ।