काठमाडौं । सामलिङ्ग पावर कम्पनीले जारी गरेको आईपीओ बाँडफाँड भएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले संस्थाको आईपीओ कार्त्तिक १६ गते मंगलबार बाँडफाँड गरेको हो ।
कम्पनीले २०७८ कार्तिक ४ गतेदेखि २०७८ कार्तिक ८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुल्ला गरिएको साधारण सेयरहरु मंगलबार बाँडफाँड गरेको हो । उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेको थियो । उक्त सेयरका लागि आवेदन दिएकामध्ये कूल २१ लाख ८८ हजार ७७८ योग्य आवेदक रहेका थिए । त्यसमध्येबाट गोलाप्रथाको माध्ययमबाट ६७ हजार ८९० जना आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका सर्वसाधारणलाई छुट्याईएको ७ लाख ३० हजार कित्ता सेयर जारी गरेको थियो । जसमध्ये १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीलाई र ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरी बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १२ लाख ३० हजार कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याईएको ५ लाख कित्ता, कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको १४ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरुलाई छुट्याईएको ३६ हजार ५०० कित्ता यस अघिनै बाँडफाँड गरिसकेको छ ।
कम्पनीले इलाम जिल्लास्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ असोज १ गतेदेखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । मर्चेन्टले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापक, शेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराईटिङ्ग जस्ता सेवा प्रदान गरिरहेको छ ।