काठमाडाैं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले श्रोत खोजेर बजेटलाईठूलो बनाउने बताएका छन् । मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप पनि लगाए ।
उनले प्रदेशको नामाकरण गर्न दुई तिहाई मतको आवश्यक पर्ने भएकोले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुसँग पनि छलफल गर्ने र सहयोग पु¥याउन आग्रह गर्ने बताए ।
मुख्यमन्त्री राईले भने, ‘पहिलो कुरा त यसको नाम तोक्ने काम हामी आरम्भ गर्दछौँ र प्रक्रिया पूरा गरेर नाम तोक्छौँ, थालेका कामहरुलाई सम्पन्न गर्छौं, बजेटको आकार सानो छ,त्यो बजेटलाई हामी अर्को बजेट अधिवेशनसम्ममा श्रोतहरु खेजेर ठूलो बनाउने प्रयास गर्छौं, बजेटको सही सदुपयोग नहुने, बजेटलाई कार्यान्वयन गर्नको लागि योजना सही ढंगले छनोट नहुने, त्यसको प्राथमिकता सही ढंगले नहुने, यस्ता कमी कमजोरीहरुलाई हामी रोक्ने प्रयास गर्छौं ।’
मुख्यमन्त्री राईले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको पनि बताए । उनले अहिले पनि नेपालमा केन्द्रिय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको बताए । राईले केन्द्रिय सरकारसँग ऋण लिएर भएपनि जनहीतका काम गर्ने र बजेटको दायरालाई बिस्तार गर्ने बताए ।