
काठमाडौं । बीमा समितिले दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ । समितिले कात्तिक २९ गते निर्जीवन बीमा व्यवसाय अन्तर्गतको दुर्घटना बीमा निर्देशिका जारी गरेको हो ।
समितिका अनुसार यो निर्देशिका छिट्टै कार्यान्वयनमा आउने छ । निर्देशिका अनुसार यो बीमालेख एक वर्ष वा सो भन्दा कम अवधिको लागि जारी गरिने छ । तर एक वर्षभन्दा लामो अवधिको लागि भने गर्न पाइँदैन ।
यो अन्तर्गत व्यक्तिगत र सामूहिक गरी दुई प्रकारका दुर्घटना बीमालेख गरिने छ । जुन बीमालेख गराउँदा नै खुलाउनु पर्ने छ ।
जसमध्ये व्यक्तिगत दुर्घटना बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ न्यूनतम बीमा तोकिएको छ । त्यस्तै, २ देखि २५ जनासम्मको सामूहिक दुर्घटना बीमा गर्दा न्यूनतम २ रुपैयाँ, २६ देखि एक सय जनासम्मको लागि न्यूनतम १ रुपैयाँ ७५ पैसा र सो भन्दा बढीको लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम १ रुपैयाँ ५० पैसा बीमाशुल्क तोकिएको छ ।
साथै, बीमाशुल्क गणना गर्दा कम्पनीहरुले प्रतिबीमालेख एक सय रुपैयाँभन्दा कम बीमाशुल्क लिन पाउँदैनन् । तर, लघुबीमा अन्तर्गत पर्ने दुर्घटना बीमालेखको हकमा यो व्यवस्था लागू हुनेछैन ।
त्यस्तै, बीमालेखमा बीमाशुल्क गणना गर्दा कूल बीमाङ्क रकम, लिन चाहेको थप जोखिम बापतको रकम र बीमालेखले उपलब्ध गराउने औषधी उपचारको रकम बाहेक थप औषधोपचारको रकम छुट्टा छुट्टै खुलाउने पर्ने छ ।
समितिका अनुसार यो बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम शुरु भएको मिति (घण्टा र मिनेटसहित) उल्लेख गर्नुपर्नेछ । उक्त मिति वा जोखिम शुरु भएको मितिको ३० दिनभन्दा बढीको फरकमा भने बीमालेख जारी गर्न नपाईने निर्देशिकामा उल्लेख छ ।
यस्तो छ निर्देशिका
[pdf id=302090]