काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोष, बीमाशुल्क लगायत विभिन्न सूचकमा वृद्धि गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा बीमाशुल्क ५० प्रतिशतले बढाएको छ । गत वर्ष ५४ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको इन्स्योरेन्सले यो वर्ष ८१ करोड ७८ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ ।
त्यस्तै, कुल लगानी रकममा ८२ प्रतिशतले वृद्धी गरेको छ र खुद नाफामा २८ प्रतिशतले वृद्धी गरी ९ करोड २३ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ ।
व्यवसाय तथा लगानी वृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ६६ करोड १० लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीले जीवन बीमा कोषको रकम १०१ प्रतिशतले बढाएर ४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष उक्त कोषमा २ अर्ब २५ करोड रुपैयाँ मात्रै थियो ।
उक्त कोष बलियो भएसँगै बीमितहरुले पाउने बोनसदरमा समेत सकारात्मक प्रभाव पर्ने इन्स्योरेन्सले जनाएको छ ।