अधिकांश बीमा कम्पनीहरु पुँजी वृद्धिको विपक्षमा

<p>काठमाडौं । बीमा कम्पनीहरु तत्काल पुँजी वृद्धिको विपक्षमा देखिएका छन् । बीमा व्यवसाय फस्टाउन नसकेको र बीमा क्षेत्रमा गरिएको लगानीको प्रतिफल ज्यादै कम भएकोले पुँजीवृद्धि अहिलेको आवश्यकता नभएको उनीहरुले बताएका छन् । नियामक निकाय बीमा समितिले पुँजी वृद्धिको तयारी गरिरहँदा अधिकांश बीमा कम्पनीहरुले अहिले पुँजी वृद्धि आवश्यक नभएको विचार व्यक्त गरेका हुन् । समितिले जीवन [&hellip;]</p>

काठमाडौं । बीमा कम्पनीहरु तत्काल पुँजी वृद्धिको विपक्षमा देखिएका छन् । बीमा व्यवसाय फस्टाउन नसकेको र बीमा क्षेत्रमा गरिएको लगानीको प्रतिफल ज्यादै कम भएकोले पुँजीवृद्धि अहिलेको आवश्यकता नभएको उनीहरुले बताएका छन् । नियामक निकाय बीमा समितिले पुँजी वृद्धिको तयारी गरिरहँदा अधिकांश बीमा कम्पनीहरुले अहिले पुँजी वृद्धि आवश्यक नभएको विचार व्यक्त गरेका हुन् ।

समितिले जीवन र निर्जीवन दुबै व्यवसायका कम्पनीको पुँजी वृद्धि गर्ने मापदण्ड बनाउने बारेमा छलफल शुरु गरेको हो । समितिले जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम ४ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम २ अर्ब रुपैयाँ बराबरको मापदण्ड बनाउने तयारी गरिरहेको छ । हाल निर्जीवन बीमा कम्पनीको लागि कम्तिमा १ अर्ब र जीवन बीमा कम्पनीहरुको लागि कम्तिमा २ अर्ब पुँजी तोकिएको छ ।

यता बीमा कम्पनीका अधिकांश सीईओहरु भने पुँजी वृद्धि गर्ने नीति बेकारको रहेको बताउँछन् । हाल भइरहेको पुँजीलाई नै व्यवसाय नपुगेको अवस्थामा पुँजी वृद्धिको नीति उपयुक्त नहुने उनीहरुको तर्क छ । कम्पनीहरुको अहिलेको पुँजीलाई विश्लेषण गर्दा पुँजी बढाउन आवश्यक नरहेको एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतम बताउँछन् ।

‘नेपालको बीमा बजारमा भएको व्यवसाय र बीमा कम्पनीहरुको अहिले भएको पुँजीलाई विश्लेषण गर्दा पुँजी बढाउनु पर्ने आवश्यकता मैले देख्दिनँ, किनभने अहिलेको पुँजीलाई नै बिजनेस पुगेको छैन,’ सीईओ गौतमले भने ।

यद्पि पछि नियम कानुन मै पुँजी बढाउने व्यवस्था आयो भने बढाइने सीईओ गौतमले भने । ‘हामीले आन्तरिक रुपमा पुँजी बढाउनु पर्ने आवश्यकता फिल गरेका छैनौं, त्यसैले अहिले पुँजी वृद्धिको बारेमा सोचेका पनि छैनौं, अब बीमा समितिले बढाउ भन्यो भने त्यसपछि मात्रै प्लान गर्नेछौं,’ उनले विकासन्युजसँग भने ।

त्यस्तै, चुक्ता पुँजी एक अर्ब २४ करोड रुपैयाँ रहेको नेपाल इन्स्योरेन्स पनि पुँजी वृद्धिको योजनामा छैन । इन्स्योरेन्सका डीसीईओ ईश्वर पोखरेलले हाल कम्पनीले चुक्ता पुँजी बढाउनेतर्फ ध्यान नदिएको बताउँछन् । ‘हाम्रो क्यापिटल पुगिसकेको छ, त्यसैले पुँजी वृद्धि गर्नुपर्ने बाध्यता छैन,’ डीसीईओ पोखरेलले भने ।

‘चुक्ता पुँजी २ अर्ब पुर्याउने भन्ने बजार हल्ला छ, तर हामीलाई केही पनि जानकारी नभएकोले पुँजी वृद्धि योजनाबारे सोचिएको छैन, र आवश्यक पनि छैन, पछि वृद्धि गर्नैपर्ने त्यस्तो कुनै निर्देशन आयो भने मात्रै योजना बनाउने छौं,’ विकासन्युजसँग कुरा गर्दै उनले भने ।

एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री पनि हाल पुँजी बढाउने योजना खासै नभएको बताउँछन् ।

‘पहिला हकप्रद जारी गरेर पुँजी बढाउने भन्दा समितिले रोकिदियो, अहिले त खासै योजना छैन, समितिको आधिकारिक निर्णय नभएसम्म केही सोचिन्न, पछि आधिकारिक निर्णय आयो भने त्यहि अनुसार अघि बढ्नुपर्छ, त्यो अवस्थामा पाएसम्म हकप्रद सेयर जारी गर्नुपर्ने हुन्छ,’ सीईओ खत्रीले विकासन्युजसँग भने ।

समितिले लाभांश वितरण नगरेको कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न नदिने भन्दै अजोड इन्स्योरेन्सको हकप्रद जारी गरी पुँजी बढाउने प्रस्तावलाई रोकिदिएको थियो ।

यता जीवन बीमा कम्पनीले भने पुँजी वृद्धिको अपेक्षा गरिरहेको देखिन्छ । पुँजी वृद्धिको नीति आएपछि बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि नहुने र समितिलाई नियमन गर्न पनि सजिलो हुने उनीहरु बताउँछन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले पुँजी वृद्धिको बाटो हेरिरहेको बताएका छन् । भएको कम्पनीलाई कम गर्न र थप नयाँ आउने कम्पनीलाई रोक्नको लागि मुख्य विकल्प नै पुँजी वृद्धि रहेको उनी बताउँछन् ।

‘बजारमा पुँजी वृद्धिको हल्ला त आइरहेको छ, तर निर्देशन भने अझै आइसकेको छैन, हामी पनि पुँजी वृद्धिको बाटो हेर्दै छौं,’ उनले भने ।बीमा विज्ञसमेत रहेका सीईओ भट्टराईले नेपाली बजारको आवश्यकता अनुसार हालको १९ वटा जीवन बीमा कम्पनीहरु आफैमा धेरै भएको र नेपालमा ५/६ वटा भन्दा बढीको आवश्यकता नरहेको बताउँछन् ।

‘मेरो विचारमा जीवन बीमा कम्पनीहरुको पुँजी ५०० करोड गरिदिनु पर्छ, उक्त नीति आएपछि जीवन बीमा कम्पनीहरुलाई मर्जरमा जानु बाहेकको विकल्पै हुँदैन, कम्पनीहरु मर्जरमा गइसकेपछि पुँजीले हाल भइरहेको अस्वस्थ पतिस्पर्धा पनि कम गर्छ, भएका कम्पनीहरु पनि कम हुन्छ, बीमा समितिलाई नियमन गर्न पनि सजिलो, त्यसैले समितिले जतिसक्दो चाँडो ५०० करोडको पुँजीको नीति ल्याईदिए राम्रो हुन्छ,’ सीईओ भट्राईले विकासन्युजसँग भने ।

हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ । कम्पनी ६० करोडको आईपीओ जारी गर्ने प्रकृयामा छ । उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ ।

प्रभु इन्स्योरेन्स कम्पनी पनि पुँजी वृद्धिको तयारीमा रहेको छ । कम्पनीले पुँजी २ अर्ब बनाउने प्रस्ताव साधारणसभामा लैजाने तयारी गरिरहेको छ । हाल प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १६ करोड रुपैयाँ छ ।

‘हामी पुँजी वृद्धि गरेर कम्पनीलाई बलियो बनाउने तयारीमा छौं, बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स वितरण गरेर भएका लगानीकर्तालाई असुरक्षित बनाउने काम भयो’ नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा प्रभु इन्स्योरेन्सका सञ्चालक राजेन्द्र मल्लले बताए ।

यसकारण पुँजी बढाउने नीति लिँदै छ समिति

बीमा कम्पनीहरुको आकार सानो भएका कारण मर्जर नीति अबलम्बन गर्नुपर्ने अवस्था रहेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् । कम्पनीहरुले पाँच वर्षसम्म पनि तोकेको पुँजी पुर्याउन नसकेकाले अब त्यस्ता कम्पनीहरुलाई मर्जरमार्फत अघि बढाउनुपर्ने आवश्यकता रहेको अध्यक्ष सिलवालको भनाई छ ।

मर्जरमा जाने कम्पनीका लागि समितिले केही सेवा सुविधा पनि दिइरहेको छ, यता कम्पनीहरुले खासै चासो नदेखाएको अध्यक्ष सिलवाल बताउँछन् । तर अब भने मर्जरको आवश्यकताबोध गराइरहेको उनले भने । पछिल्लो समय कम्पनीहरुले एकले अर्काको नक्कल गर्ने प्रवृत्ति बढ्यो, जसले बजारमा नकारात्मक प्रभाव परेकाले पनि मर्जर गराउनु पर्ने भएको उनको भनाई छ ।

यदि समितिले पुँजी वृद्धिको रणनीति बनाई कार्यान्वयनमा ल्याउने हो भने निर्जीवनलाई भन्दा जीवन बीमा कम्पनीलाई बढी प्रेसर पर्ने देखिन्छ । यो अवस्थामा निर्जीवन बीमा कम्पनीहरुले पाएसम्म हकप्रद सेयर जारी गरेर भएपनि सजिलै २ अर्ब रुपैयाँ बराबरको पुँजी पुर्याउन सक्छन् । तर, जीवन बीमा कम्पनीहरुलाई भने मर्जरमा जानै पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ ।

पुँजी बढाउने प्रक्रियामा रहेका तीन निर्जीवन बीमा कम्पनी

निर्जीवन बीमा कम्पनीमध्ये दुई कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रकृया अघि बढाएका छन् । शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्सले सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँर्ग स्वीकृति मागिसकेका छन् ।

जसमध्ये आईएमई जनरल इन्स्योरेन्सले पनि पुँजी बढाउन १० बराबर ४ को अनुपात अर्थात ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । उक्त सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति कुरिरहेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ छ । प्रस्तावित ४० प्रतिशत हकप्रद सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ६१ करोड रुपैयाँ पुग्ने छ ।

यता शिखर इन्स्योरेन्सले पनि चुक्ता पुँजी वृद्धिको लागि हकप्रद सेयर जारी गर्दै छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रकृया अघि बढाएको छ । जसको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । बोर्डले अनुमति दिएपछि इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत अर्थात ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने छ । गत २०७८ जेठ महिनामै हकप्रद सेयर स्वीकृतिको लागि बोर्डमा पुगेको फाइल करिब ६ महिना बितिसक्दा पनि हालसम्म स्वकिृति भएको छैन । हाल शिखरको चुक्ता पुँजी एक अर्ब ७५ कारोड रुपैयाँ छ । प्रस्तावित ३० प्रतिशत लाभांश स्वीकृत पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने छ ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले पनि पुँजी वृद्धि गरेर २ अर्ब बनाउँदैछ ।

सम्बन्धित समाचार

बीमा कम्पनीहरुको पुँजी वृद्धि गरिँदै

Share News