काठमाडौं । सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । आइतबारको कारोबारमा नेप्से परिसूचक एकैदिन ८८.७० अंकले घटेको छ । आइतबार कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक अन्त्यमा २३६१.२७ बिन्दुमा अडेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.६२ प्रतिशत घटी हो भने गत माघ यताकै न्यून बिन्दु हो ।
गत माघ ६ गते परिसूचक ३२४२ बिन्दुमा रहेको थियो । त्यसयताको कारोबार परिसूचक उक्त बिन्दुसम्म झरेको थिएन ।
परिसूचक घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । गत बिहीबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ३ अर्ब ३८ करोड बराबरको सेयर कारोबार भएको छ । जुन ७१ करोड रुपैयाँले बढी हो ।
बजारमा सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको सेयर कारोबार भएको छ । फाइनान्सको एकैदिन ३१ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार एक लघुवित्त र एक म्युचुअल फण्डको कारोबार सर्किट लेभलमा घटेर कारोबार भएको छ । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत घटेर प्रतिकित्ता ११११ रुपैयाँमा झरेको छ भने लक्ष्मी इक्विटीको इकाई मूल्य ९.६२ प्रतिशतले घटेर प्रतिइकाई ९.४० रुपैयाँ कायम भएको छ ।
बढी कारोबार भएको फाइनान्सको सेयर मूल्य पनि बढेको छ । फाइनान्सले गत वर्षको बम्पर लाभांश घोषणा गरेसँगै फाइनान्सको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । आइतबार फाइनान्सको सेयर मूल्य ४.५५ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ८० रुपैयाँ पुगेको छ ।
त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.४६ प्रतिशतले बढेर प्रतिकित्ता ४९९.३० रुपैयाँ पुगेको छ ।
आइतबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये निर्जीवन बीमा समूह सर्वाधिक अर्थात ४९० अंकले घटेको छ ।