काठमाडौं । केही दिनयताको सेयर बजार हेर्नुभयो भने असाध्यै अस्थिर देखिन्छ । एक दिनमा १०० भन्दा बढी अंकले समेत परिसुचक तलमाथि भएको देखिन्छ ।
केही दिनयता बजार असाध्यै अस्थिर छ भन्ने तथ्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकले पनि पुष्टी गर्छ । जस्तो कि मंसिर २९ गते नेप्से परिसुचक कारोबार समयमा ११३.९८ अंकले तलमाथि गर्यो । यस्तै, मंसिर २८ गते १३५.१७ अंकले तलमाथि भयो । जुन दिन परिसुचक ६ प्रतिशतले बढेको कारण सर्किट ब्रेकर लगाएर करिब साढे १ घण्टा अघि नै बजार बन्द गरिएको थियो ।
नेप्सेका अनुसार मंसिर २७ गते परिसुचक ९२.४२ अंकले तलमाथि गर्यो । त्यस्तै, मंसिर २६ गते ९५.७७ अंकले, मंसिर २६ गते ६२.९ अंकले र मंसिर २५ गते ८४.९ अंकले परिसुचक तलमाथि भएको थियो । आज (पुस १ गते) भने एकैदिन बजार ४७.१४ अंकले मात्रै तलमाथि भएको छ ।
छोटो समयका लागि कारोबार गर्ने सेयर कारोबारीको लागि अस्थिर बजार कमाउने अवसर पनि हो । किनभने दोस्रो बजार भनेकै जोखिमको बजार हो । जोखिम बढी लिन सक्दा फाइदा पनि बढी हुन सक्छ भने नोक्सानी पनि उस्तै धेरै लिन सक्नुपर्छ । अलि लामो समयको लागि लगानी गर्न चाहनेहरुका लागि अस्थिर बजार अनुपयुक्त हो ।
बजार असाध्यै अस्थिर छ भने बजारको अवको गति कस्तो हो भनेर अनुमान गर्न गाह्रो हुन्छ । असाध्यै अस्थिर भएको बजार धेरै बढ्ने दिशामा अघि बढ्न पनि सक्छ भने ठूलो अंकले घट्ने तयारी गरिरहेको पनि हुन सक्छ ।
तर, सरकार र नियामक निकायका लागि अस्थिर बजार चिन्ताको विषय हो । बजार यस्तै अस्थिर भयो र यसलाई स्थीर बनाउनु पर्छ भन्दै धितोपत्र बोर्डले विशेष सुविधा पाउने गरी म्युचुअल फण्ड र स्टक डिलर भित्र्याएको छ ।
सरकारले म्युचुअल फण्ड र स्टक डिलरलाई विशेष सुविधा दिएको छ, जुन अन्य लगानीकर्ता वा कारोबारीले पाउने गरेका छैनन् । म्युचुअल फण्डले सेयरबाट हुने लाभमा पुँजीगत लाभकर (सीजीटी), आयकर जस्ता कुनै पनि कर तिर्नु पर्दैन । यस्तै, कुनै पनि कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्दा ५ प्रतिशत म्युचुअल फण्डको लागि सुरक्षित गर्ने गरिएको छ ।
यस्तै, अन्य सेयर लगानीकर्ता वा कारोबारीले सेयर खरिदविक्री गर्दा ब्रोकर मार्फत गर्नुपर्छ । अनलाइनबाट नै सेयर खरिद विक्रीको अर्डर गरेपनि त्यसको सेटल ब्रोकरले गर्ने गरेका छन् भने प्रत्येक सेयर कारोबारमा ब्रोकर कमिसन पनि तिर्नुपर्छ । तर, स्टक डिलर कम्पनीले सेयर कारोबार गर्नको लागि बेग्लै विण्डो पाएका छन् । उनीहरुले सेयर कारोबार गर्दा ब्रोकरको च्यानलमा नपुगी आफैले कारोबार गर्न सक्छन् भने ब्रोकरलाई कमिसन पनि दिनु पर्दैन ।
बजार स्थिर बनाउनकै लागि म्युचुअल फण्ड र स्टक डिलरलाई राज्यले विशेष सुविधा दिएपनि बजार स्थिर गराउन यी दुबैको भूमिका कमजोर देखिएको छ । सरकारबाट विशेष सुविधा लिएका निकायहरुले सो अनुसारको कर्तव्य पालना गरेको नदेखिएको एक लगानीकर्ताले बताए ।
‘अन्य लगानीकर्ताले नाफामा ध्यान दिएर आफ्नो पुँजीको मात्रै चिन्ता गर्ने हो, राज्यबाट विशेष सुविधा पाएका म्युचुअल फण्ड र स्टक डिलरले राज्यको चाहना बमोजिम बजार स्थिर बनाउन भूमिका निर्वाह गर्नुपर्ने हो तर, म्युचुअल फण्ड र स्टक डिलर पनि व्यक्तिगत लगानीकर्ता जस्तै गरी कसरी नाफा गर्ने र आफ्नो पुँजी सुरक्षित गर्ने भन्नेमै केन्द्रीत भए, यसैकारण बजारमा एकैदिन ठूलो अंकको तलमाथि हुने गरेको छ,’ एक लगानीकर्ताले भने ।
सेयर बजारमा हुने माग र आपूर्तिको सन्तुलन मिलाउन र धेरै नघटोस तथा धेरै नबढोस् भन्ने अभिप्रायले म्युचुअल फण्डलाई विशेष सुविधा दिएर संचालनमा ल्याइएको थियो । यस्तै, बजारमा सेयरको आपूर्ति बढी भएपछि माग र आपूर्ति सन्तुलन मिलाउन भन्दै स्टक डिलर कम्पनी संचालनमा ल्याइएको थियो । तर, पछिल्लो समय म्युचुअल फण्ड र स्टक डिलर कम्पनी आफ्नो उद्देश्यमा असफल भएको लगानीकर्ताहरु बताउँन थालेका छन् ।