काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकुमल दाहाल ‘प्रचण्ड’ले नेपालको सेयर बजार अहिले नै सकिनु पर्छ भन्ने आफ्नो आशय नभएको बताएका छन् ।
न्युज एजेन्सी नेपालका सविन धमलासँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले पुँजीवादको स्वरुप कस्तो छ भनेर आफूले सैद्धान्तिक बहस सुरु गरेकोमा केही मान्छेहरुले नबुझेर र केही मानिसले जानीबुझीकन गलत व्याख्या गरेको बताए ।
‘मैले पुँजीवाद अहिले वित्तीय पुँजीवादको रुपमा आएको छ भनेर सैद्धान्तिक वहस सुरु गरेको हूँ, त्यो विषयले धेरै तरंग पनि ल्यायो, मानिसहरु पैसाको लागि पैसामा लगानी गर्न थाले, उत्पादनको लागि लगानी हुन छोड्यो, छिटो पैसा कमाउनको लागि घरजग्गा जस्ता क्षेत्रमा लगानी गर्ने प्रवृत्ति देखियो, मैले यो विषय भनेको हूँ, नेपालको सेयर बजार अहिले नै सकिनु पर्छ भनेको होइन, नेपालको संरचनामाथि हमला गरेको होइन,’ अध्यक्ष प्रचण्डले भने ।
उनले अहिले नेपालमा जे जस्तो कार्य भइरहेको छ, त्यसले नेपालको तरक्की पनि नहुने वताए । युवा जनशक्तिलाई विदेश पठाएर रेमिटान्स भित्र्याएको भरमा नेपालको विकास नहुने र नेपालीको शिर उचो नहुने उनको भनाई छ ।
अध्यक्ष प्रचण्डले गत शनिवार पार्टीको प्रदेश सम्मेलन उद्घाटन गर्दै सेयर बजार पुँजीवादको नयाँ औजार भएको प्रतिक्रिया दिएका थिए । उनको यस्तो भनाईपछि सेयर बजारमा ठूलो गिरावट आएको थियो । प्रचण्डको सो अभिव्यक्तिको नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘प्रचण्ड माक्र्सभन्दा पनि जान्ने भएर बोलेको’ प्रतिक्रिया दिएका थिए ।
सम्बन्धित समाचार