काठमाडौं । दोश्रो बजारका लगानीकर्ताहरु एकाएक जीवन बीमा कम्पनीको सेयरमा आकर्षित भएका छन् । आइतबारको सेयर बजारमा अन्य कम्पनीमा भन्दा जीवन बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षण बढेको हो ।
दिउँसो १ बजेसम्ममा टप गेनरको शीर्ष स्थानमा मध्य भोटेकोशीबाहेक अधिकांश लाइफ इन्स्योरेन्सहरु रहेका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल), सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स, एशिनयन लाइफ इन्स्योरेन्सको सेयरमा लगानीकर्ताहरु झुम्एिका छन् । जसमध्ये अधिकांशको सर्किट लेभलमा कारोबार भइरहेको छ भने बाँकीको ८ प्रतिशतभन्दा बढीले बढेको छ ।
यता निर्जीवन बीमा समूह पनि ७२९ बिन्दुले उकालो लागि सकेको छ । पछिल्लो समय बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सञ्चालित बीमा कम्पनीहरुको पुँजी बढाउन आवश्यक देखेसँगै दोश्रो बजारमा यी क्षेत्रका कम्पनीको सेयर मूल्यमा उछाल आएको हो । साथै, वाणिज्य बैंकहरुले लाभांश घोषणाको लहर सकाएसँगै लगानीकर्ताहरु लाभांश घोषणा गर्न बाँकी रहेका बीमा कम्पनीहरुमा झुम्मिएको बुझिन्छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६२.४५ अंकले बढेर २५८२ बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये जीवन बीमा समूह उच्च अर्थात ८.३२ प्रतिशतले बढेको छ । अघिल्लो कारोबारको तुलनामा जीवन बीमा समूह ११०७.७४ अंकले बढेर १४ हजार ४२३ बिन्दुमा पुगेको छ ।
बजारमा २ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये नबिल बैंकको उच्च कारोबार भएको छ । बैंकको १९ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ ।