जनकपुर । प्रदेश नं.२ सरकारले घर तथा सम्पत्ति बीमालाई अनिवार्य रुपमा अगाडि बढाउने भएको छ । प्रदेशका प्रमुख सचिव हरिप्रसाद मैनालीले प्रदेशमा सो बीमालाई अनिवार्य रुपमा अगाडि बढाउन आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेटमा आवश्यक नीतिगत व्यवस्था गरिने बताएका हुन् ।
पुस १४ गते बीमा समितिले गरेको बीमासम्बन्धी अन्तर्क्रिया कार्यक्रम बोल्दै प्रदेशका प्रमुख सचिव मैनालीले सो बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले विपत्तीका कारणले आइपर्ने संकटका समयमा बीमाले सहयोग गर्ने भएकाले बीमाको पहुँच समाजका टाठाबाठा र उद्योगी व्यवसायीसम्म मात्र नभई विपन्न वर्गसम्म पुर्याउनुपर्ने बताए ।
उनले प्रदेशका सबै नागरिकलाई बीमाको दायरामा ल्याउनका लागि विशेष गरी विपन्न बर्गलाई केन्द्रित गरी प्रदेश सरकारका आगामी नीति, कार्यक्रम र बजेटमा बीमासम्बन्धी नीति तथा कार्यक्रम ल्याउने जानकारी दिँदै बीमाको पहुँच विस्तारका लागि बीमासम्बन्धी जनचेतना अभिवृद्धि महत्वपूर्ण हुने भएकाले प्रदेशका सबै पालिकाहरुमा बीमा सचेतना कार्यक्रम गर्नुपर्ने आवश्यकता औंल्याए ।
मुख्यमन्त्री राउतले बीमा गरेपछि नागरिकमा संकटमा समयमा आत्मविश्वास र आत्मबल बढ्ने भएकाले बीमा कसरी, कहाँ गर्ने र कसरी दाबी भुक्तानी पाउने बारेमा सबैलाई बुझाउनु जरुरी रहेको बताए ।
साथै, उनले प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमको प्रभावकारी कार्यान्वयमा समेत बीमाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै सबै छोरीहरुको बीमा गर्न सकेमा समाजको रुपान्तरण हुने भएकाले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाको महत्वका बारेमा आम जनतालाई बुझाउने दायित्व बीमा समिति सहित प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरुको समेत रहेको उल्लेख गर्दै बीमासम्बन्धी जनचेतना बढाएर नै चालू आर्थिक वर्षमा एक तिहाई जनतामा बीमाको पहुँच पुर्याउने लक्ष्य हासिल गर्न सकिने बताए ।
अध्यक्ष सिलवालले नागरिकका आवश्यकता र सुझाव अनुसार बीमालेखमा परिमार्जन गर्दै आएको जानकारी दिँदै घर जग्गामा दिएको छुट रकमबाट घरको बीमा गर्नुपर्ने, विपन्न तथा अपांगहरुको बीमा प्रदेशले गर्ने लगायतका विभिन्न सुविधाहरु सहित प्रदेशका सबैलाई समेट्ने गरी बीमा नीति ल्याउन प्रदेश सरकारसँग आग्रह गरे ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रदेश सरकार र बीमा समिति आपसी समन्वयका साथ अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा बीमा समितिका निर्देशक दिनेशकुमार लालले बीमा समितिका कार्य, बीमाको पहुँच विस्तारका लागि प्रदेश सरकारको भूमिका, बीमा समितिले गर्न सक्ने सहयोग लगायतका विषय सहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।
छलफलमा सहभागीहरुले बीमा कम्पनीहरुले विभिन्न कारण देखाई कृषि बीमा नगर्ने गरेको गुनासो गर्नुका साथै बीमालेखमा भएका शब्द र शर्तहरु बुझ्न कठिन भएकाले सरलीकृत गर्नुपर्ने र जडिबूटी बीमा अन्तर्गत बृक्षरोपणको समेत बीमा गर्ने व्यवस्था हुनुपर्ने लगायतका विचार व्यक्त गरे ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश मन्त्रालयका मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लगायत कर्मचारीहरु गरी करिब ६० जनाको सहभागिता रहेको थियो ।