काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । पुस १९ गते सम्पन्न इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारणसभाले प्रस्तावित १३.३६८४ प्रतिशत लाभांश पारित गरेको हो ।
यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश पाउने भएका छन् । १२.७० प्रतिशत बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूजी वृद्धि भई २ अर्ब ५५ करोड रुपैयाँ कायम हुनेछ ।
सभाले संचालक समितिमा संस्थापक सेयरधनी समुह “क” बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयरधनी समूह “ख” बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचित गरेको छ । संस्थापक सेयरधनी समुह “क” बाट केशवप्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूह “ख” बाट कृति टिवडेवाल तथा बीरेन्द्र बाबु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
कम्पनीले चालु आर्थिक वर्षको मंसिरसम्ममा १ लाख २२ हजार ९७० बीमालेखबाट २ अर्ब एक करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । साथै, इन्स्योरेन्सले सो अवधिमा २९ करोड १८ लाख रुपैयाँ बराबरको कुल दावी भुक्तानी गरेको छ ।
कम्पनीको सभा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए ।