हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्तालाई धोका, अब कहिले खुल्छ सेयर कारोबार ?

<p>काठमाडौं । मर्जरको अन्तिम तयारीमा रहेको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिएको छ । पुस ३० गते भएको हिमालयन बैंकको वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव पारित गर्न असफल भएपछि दुई बैंकबीचको मर्जर भाँडिएको हो । हिमालयन बैंकमा १४ प्रतिशत सेयर हिस्सा रहेको सरकारी संस्था कर्मचारी सञ्चय कोषले नेपाल इन्भेष्टमेन्ट बैकसँग मर्जरमा जाने विपक्षमा भोट [&hellip;]</p>

काठमाडौं । मर्जरको अन्तिम तयारीमा रहेको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिएको छ । पुस ३० गते भएको हिमालयन बैंकको वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव पारित गर्न असफल भएपछि दुई बैंकबीचको मर्जर भाँडिएको हो ।

हिमालयन बैंकमा १४ प्रतिशत सेयर हिस्सा रहेको सरकारी संस्था कर्मचारी सञ्चय कोषले नेपाल इन्भेष्टमेन्ट बैकसँग मर्जरमा जाने विपक्षमा भोट दिएपछि मर्जर असफल बनेकाे हाे ।

विगत ८ महिनादेखि मर्जरकाे पर्खाइमा रहेका लगानीकर्तालाई अन्तत: निराश पारेकाे छ । मर्जर भाँडिएपछि सेयर लगानीकर्तामाथि ठूलो धाेका भएकाे छ ।

नेपाल  राष्ट्र बै‌ंकले समेत दुवै बैंकले लगानीकर्तालाई धाेका दि‍एकाे बताएकाे छ । नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता नारायण पाेखरेलले यसले लगानीकर्तालाई क्षति हुने बताए । उनका अनुसार अब बैंकहरु राष्ट्र बैंकमा डिमर्जका लागी आएमा डिमर्ज पनि हुने र तीन वर्षसम्म लाभांश पनि राेकिने हुँदा त्यसकाे असर लगानीकर्तालाई पर्नेछ ।

अब दुई बैंकाे मर्जरकाे प्रक्रिया भाँडिएसँगै दोश्रो बजारमा रोक्का रहेको बैंकहरुको सेयर कारोबार कहिले खुल्छ भन्ने विषयमा पनि लगानीकर्ताले चासाे राखेका छन् ।  नेप्सेले भने दुई बैंकको सेयर कारोबार तत्काल खुल्न समय लाग्न सक्ने बताएको छ ।

मर्जर भाँडिएपछि पनि त्यसको प्रकृया धेरै भएकोले तत्काल सेयर कारोबार खुल्न समय लाग्ने सम्भावना प्रवल रहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताएका छन् ।

‘अब दुई बैंकले मर्जर भाँडियो भनेर राष्ट्र बैंकलाई आधिकारिक जानकारी गराउनुपर्ने हुन्छ, त्यसपछि राष्ट्र बैंकले जानकारी भएको स्वीकृति दिन्छ, राष्ट्र बैंकको स्वीकृति पाएको चिठी बैंकले नेप्सेलाई उपलब्ध गराएपछि बल्ल सेयर कारोबार फुकुवा हुन्छ,’ प्रवक्ता पराजुलीले विकासन्युजसँग भने ।

यदि बैंकहरुले लगानीकर्ताको मर्का बुझ्ने र बजारलाई प्राथमिकता दिने हो भने ८ महिनादेखि रोक्का रहेको दुई बैंकको सेयर कारोबार छिट्टै खुल्ने पनि उनी बताउँछन् ।  तर, राष्ट्र बैंकले कारबाही गर्ने भयो भने समय थप लम्बिन पनि सक्ने उनको भनाई छ ।

‘मर्जर भाँडेका बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने जस्तो कुरा आईरहेको छ, यदि कारबाही गर्ने हो भने कारोबार फुकुवा हुने थप समय लाग्छ, त्यसैले अब राष्ट्र बैंकको के निर्णय गर्छ त्यही अनुसार हुन्छ, बैंकको आधिकारिक चिठी नआई सेयर कारोबार फुक्का गर्न मिल्दैन,’ प्रवक्ता पराजुलीले भने ।

यी दुई बैंकले मर्जरमा जाने भनेर गत बैशाख ३० गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौतासँगै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले बैशाख ३१ गतेदेखि यी दुबै बैंकको सेयर कारोबार रोक्का गरिदिएको थियो ।

जसले गर्दा दुई कम्पनीका सेयर लगानीकर्ताको सम्पत्ति सेयर बजारमा फ्रिज भएको छ । उनीहरुले गत ८ महिनादेखि यता सेयर किनबेच गर्न पाएका छैनन् ।

सम्बन्धित समाचार

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

Share News