सुकुमवासी बस्ती : सीसीटीभीबाट हुनेछ निगरानी, होल्डिङ सेन्टरमा राखेर नागार्जुन पुर्याउने तयारी

काठमाडौं । सरकारले थापाथलीको सुकुमवासी बस्तीलाई हटाउनका लागि तीव्र तयारी गरेको छ । सरकारले शनिबार र आइतबार सुकुमवासी बस्ती खाली गर्नका लागि विभिन्न प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि प्रहरीले माइकिङ पनि गरिरहेको छ । शुक्रबार कतिपय सुकुमवासीले वासस्थान छोडिसकेका छन् भने केही विरोध गरिरहेका छन् । अहिले सो बस्तीमा नारावाजी पनि भइरहेको छ । 

यहीबीचमा सरकारले आफ्नो तयारी तीव्र पारेको छ । सो क्षेत्रको निगरानी बढाउनका लागि प्रहरीले सुकुमवासी बस्तीमा सीसीटीभी पनि जडान गरेको छ ।  प्रहरीले बस्ती नजिकको सडक किनारमा रहेका पोलमा सीसीटीभी जडान कार्य सुरु गरेको हो । 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नियमित कार्यक्रम अन्तर्गत सीसीटीभी जडान भइरहेको बताए । 

सरकारले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई नागार्जुनस्थित भवनमा राख्ने तयारी पनि गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले सुकुमवासी बस्तीबाट विस्थापित नागरिकलाई सुरुमा होल्डिङ सेन्टरमा लगिने र त्यहाँ वास्तविक पीडित पहिचान गरी नागार्जुनस्थित भवनमा व्यवस्थापन गरिने जानकारी दिए । 

सुकुमवासीलाई नै राख्न भनेर डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला २०६९ सालमा सरकारले नागार्जुन नगरपालिका (साविक इचंगुनारायण गाविस) मा १२ करोड रुपैयाँ लगानी गरेर सुविधा सम्पन्न दुई भवन (अपार्टमेन्ट) बनाएको थियो । ती भवनमा २२४ फ्ल्याट छन् । तर, अहिलेसम्म त्यहाँ सुकुमवासीलाई राख्न सकिएको छैन । 
 

Share News