काठमाडौं । बीमा व्यवसाय सञ्चालन गर्दै आएका बीमा कम्पनीहरुले यो वर्ष नगद लाभांश नदिने भएका छन् । सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीले कर प्रयोजनको लागि बाहेक दिँदै आएका नगद लाभांश वितरण नगर्ने भएका हुन् ।
नियामक निकाय बीमा समितिको निर्देशनसँगै उनीहरु यो वर्ष सेयरधनीलाई लाभांश खुवाउन असमर्थ भएका हुन् । समितिले कम्पनीहरुको पुँजी वृद्धिलाई ध्यानमा राख्दै र कम्पनीहरुलाई थप बलियो बनाउनको लागि पनि सञ्चालित सबै कम्पनीहरुको नगद लाभांशमा रोक लगाएको हो ।
बीमा कम्पनीको नगद लाभांशमा अंकुश लगाएसँगै दोश्रो बजारमा यसको कस्तो असर पर्छ ? सेयर मूल्यमा कत्तिको प्रभाव पार्छ, लगानीकर्ताहरु के भन्छन् र उनीहरुले समितिको यो निर्देशनलाई कसरी हेरेका छन् ? भन्ने विषयमा हामीले विभिन्न समूहका लगानीकर्ताको भनाईलाई समेट्ने प्रयास गरेका छौं ।
हरि ढकाल-अध्यक्ष, सेयर लगानीकर्ता दवाव समूह
सेयर लगानीकर्ता दवाव समूहका अध्यक्ष हरि ढकालले दुई कारणले बीमा समितिको नगद लाभांश कडाई ठीक रहेको बताएका छन् । र, यसमा चुनौति समेत रहेको उनी बताउँछन् ।
‘नेपालको स्टक मार्केट बोनसमा आकर्षित छ । लगानीकर्ताहरु बोनसप्रति बढी आकर्षित हुने भएपछि यो निर्देशन बजारको मूल्य, लगानीकर्ताहरु सबैको लागि ठीक छ, अर्कोतिर, कम्पनीहरुको चुक्ता पुँजी बढाउनु पर्ने अवस्था छ, उनीहरुले हकप्रदमार्फत पुँजी बढाउन पाएका छैनन्, यो अवस्थामा बोनसमार्फत क्यापिटल बढाउँदै लैजानको लागि पनि यो निर्देशन ठीक छ,’ अध्यक्ष ढकाले विकासन्युजसँग बोल्दै भने ।
यससँगै कम्पनीहरुले बिजनेस बढाउन नसकेर नाफा घट्न सक्ने चुनौति देखिएको उनले बताए ।
‘मूल्यको लागि बजारमा बोनस नै प्राथमिकता छ । लाभांश कडाईमा चुनौति पनि देखिएको छ, के हो भने, बोनस सेयर मात्रै दिइरहेर कम्पनीले बिजनेस बढाउन सकेन भने कम्पनीको नाफा घट्छ की भन्ने डर छ,’ अध्यक्ष ढकालले जनाएका छन् ।
तर, मूल्यको लागि बजारमा बोनस नै प्राथमिकतामा छ, त्यसैले समग्रमा यो पोलिसी नकारात्मक नभई सकारात्मक रहेको ढकालको भनाई छ ।
संरक्षणा चौधरी- अध्यक्ष, नेपाल पुँजीबजार संघ
अन्तर्राष्ट्रिय बजारमा बोनस सेयरलाई भन्दा पनि नगद लाभांशलाई बढी प्राथमिकता दिने गरेको तर हाम्रो नेपालमा भने बोनसलाई बढी प्राथमिकता दिएको पाइने लगानीकर्ता तथा नेपाल पुँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरी बताउँछिन् । पहिला उच्च बोनस सेयर दिएका कम्पनीको अवस्थाहरु अहिले नाजुक रहेको जानकारी गराउँदै उनले बोनसलाई भन्दा नगदलाई बढी प्राथमिकता दिए कम्पनीलाई प्लस लगानीकर्तालाई पनि राम्रो हुने उनको भनाई छ ।
त्यस्तै, उनका अनुसार समितिले बीमा कम्पनीहरुको नगद लाभांश वितरणमा रोक लगाएपनि त्यस्तो असर पर्दैन ।
‘हुन त बीमा कम्पनीहरुले खासै नगद लाभांश दिएका त छैनन्, अधिकांशले कर प्रयोजनको लागि भनेर मात्र घोषणा गर्छन्, कर बाहेक दिनेले पनि ५/१० प्रतिशतको हाराहारीमा दिने गरेका छन्, पछिल्लो समयको बजारमा इन्भेष्टर्स भन्दा पनि ट्रेडरहरुको हाबी भएको छ । उनीहरुले नगदलाई भन्दा पनि बोनसलाई फोकस गर्ने भएर त्यस्तो खासै फरक पर्दैन,’ लगानीकर्ता चौधरीले भनिन् ।
बजारमा ठूला लगानीकर्ताको रुपमा चिनिने दिपेन्द्र अग्रवालले पनि बीमा समितिको पछिल्लो निर्णयले सेयर बजारमा सकारात्मक नै प्रभाव पर्ने बताएका छन् ।
सिर्जना सुबेदी- लगानीकर्ता
लगानीकर्ता सिर्जना सुबेदीले नेपालका लगानीकर्तालाई बोनस सेयर दिँदा नै फाइदा हुने बताउँछिन् । र, बीमा समितिको पछिल्लो निर्णयले कम्पनीहरुलाई बलियो बनाउन मद्दत पुग्ने उनको भनाई छ ।
‘लगानीकर्तालाई बोनस नै दिँदा फाइदा हो, नगद लाभांश त कति नै दिने होर, त्यहि नि अहिले नदिए पनि पछि दिइहाल्छन्, एउटा समय आएपछि दिनै पर्छ, त्यसैले यसले बजारलाई राम्रो हो, खासै असर पर्दैन, हाल रोकिरहेको हकप्रद सेयर पनि जारी गर्न दिने हो की होइन, बीमा समितिको यो निर्देशनले भविष्यमा कम्पनीहरु बलिया हुन्छन्, भविष्यको लागि समितिको यो कडाई स्वागतयोग्य नै छ,’ उनले विकासन्युजसँग भनिन् ।
कता जाला अबको मार्केट ?
अबको सेयर मार्केटले राम्रो गति लिने लगानीकर्ताहरु बताउँछन् । पछिल्लो समय सबै तिरबाट सकारात्मक कुरा आएको, मार्केट बुलिस ट्रेडमै रहेको र अधिकांशको सेयर मूल्य जस्टिफाई नरहेकोले बजार थप उचाईमा पुग्ने बजारका जानकारीहरुको भनाई छ ।
ठूला लगानीकर्ता अग्रवालले मार्केट बुलिस ट्रेण्डमै रहेको बताएका छन् । पछिल्लो समय कोरोना बढीरहेको र लकडाउन हुने अवस्था देखिएकोले पनि बजार उकालोतर्फ नै लाग्ने बताएका छन् ।
‘मार्केट बुलिस ट्रेण्डमै छ, बढ्दो कोरोनाले लकडाउनको अवस्था सिर्जना गर्न सक्ने भएकाले पनि मार्केट पोजेटिभ नै देखिएको छ,’ उनले भने ।
साथै, उनले हालै अर्थमन्त्रीसँग भेट गरेको र उनी बजारप्रति सकारात्मक रहेका समेत बताए ।
‘हालै अर्थमन्त्रीज्यूसँग भेट भएको थियो, भेटमा उहाँले २/४ दिनमा नेप्सेको प्रमुख र १५/२० दिनमा धितोपत्र बोर्डको प्रमुख नियुक्ति गर्ने गरी प्रकृया अघि बढाएको बताउनु भएको छ, साथै, अहिले रोकिरहेका विकासका कामहरु गराउँछौं, र, बजारलाई राम्रो बनाएपछि मात्रै म बोल्छु भन्नुभएको छ,’ उनले विकासन्युजसँग भने ।
साथै, उनले बजार थप बढ्ने क्रममा रहेकाले पनि अहिले लगानी गर्ने बेला रहेको समेत जानकारी गराएका छन् ।
त्यसैगरी, सेयर लगानीकर्ता दवाव समूहका अध्यक्ष ढकालले पनि कोरोना महामारीको उग्र रुप र यो साइकलको बुल सकि नसकेकोले यो समय लगानी गर्ने समय रहेको बताउँछन् ।
‘पछिल्लो समय बढ्दो कोरोनाले लकडाउन हुने स्थिति छ, यसले अन्य क्षेत्र खुम्चिने भएकाले बजारमा आकर्षण बढ्ने निश्चित छ, प्लस यो साइकलको बुल सकिएकै छैन, ३२०० को इन्डेक्स हुँदै होइन, त्यसैले म बजारप्रति कन्फिडेन्ट छु, किनकी अबको एक डेढ बर्षभित्र बजारले राम्रै फड्को मार्ने देखिन्छ,’ उनले भने ।
लगानीकर्ता सिर्जना सुबेदी हालसम्म खासै मार्केट नबढेको र थप बढ्नु पर्ने बताउँछिन् । साथै, उनले नेपालको पुँजीबजार लगानीकर्ताको सेन्टिमेन्टमा चलेकोले दुःख व्यक्त गरेकी छिन् ।
‘हाल बजार बढीरहेको छ, पछिल्लो सयम तरलताको एकदमै अभाव भएको थियो, अहिले विस्तारै सहज हुँदै गइरहेको छ, नेताको बोलीले असर गरेको थियो, तर एउटा व्यक्तिले बोलेको भरमा मार्केट टिक्नु भन्ने त राम्रो होइन, तर नेपाली बजारमा त्यही भइरहेको छ, मात्रै सेन्टिमेन्टको आधारमा मार्केट चलेको छ, अहिले सबैको सेन्टिमेन्ट पोजेटिभ देखिएको छ, कारोबार पनि राम्रो छ, बजार थप बढ्छ नै,’ सुबेदीले बताइन् ।
साथै, नेपालको मार्केट धेरै बढेको पनि छैन, कमर्शियल बैंकहरु २०० रुपैयाँको हाराहारीमा रहेको, इन्डेक्स बढेपनि कतिपय कम्पनीको सेयर मूल्य जस्टिफाई नै नरहेको, बैंकहरु जो डुब्दैनन्, लाभांश पनि राम्रै दिइरहेका हुन्छन्, ती कम्पनीहरु नबढेको उनी बताउँछिन् । तर, पहिला घटेको जसरी अबको मार्केट घट्दैन र घटेपछि चाडैं पिकअप लिने उनको भनाई छ ।
यता लगानीकर्ता संरक्षणा चौधरीले पनि अबको बजारले राम्रै गति लिने बताएकी छिन् । साथै, अब पुनः लकडाउन भयो नयाँ लगानीकर्तालाई सिकाइ समेत हुने उनी बताउँछिन् ।
‘मार्केट सबै मनोवैज्ञानिक हो, नयाँ भेरियन्टसँगै कोरोना महामारीको बढ्दो रुपले लकडाउनको पनि एकदम हल्ला चलिराछ, त्यसले गर्दा मार्केट बढ्छ है भन्ने भएको छ, तर पहिलाको जस्तो कन्डिसन भने छैन, पहिला लगानीकर्ता भनेको जम्मा ९/१० लाख थिए, अहिले बढेर झण्डै ४७/४८ लाख पुगिसकेका छन्, पछिल्लो समय जसरी मार्केट डाउन भयो, अधिकांश नयाँ लगानीकर्ताहरु बाहिरी सकेका छन्, कति सर्ट ट्रम गेन खाएर निस्किए भने कति जना घाटा खाएर निस्किएका छन्, अब पुनः लकडाउन भइहाल्यो भने ती लगानकर्तालाई सिकाइ हुनेछ,’ लगानीकर्ता चौधरीले विकासन्युजसँग भनिन् ।
सम्बन्धित समाचार