
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्य कम्पनीबाट बाहिरिने भएका छन् । ४ वर्षको लागि नियुक्त भएका बज्राचार्य डेढ वर्ष अघि नै इन्स्योरेन्सको उक्त पदबाट बाहिरन लागेका हुन् ।
इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनको कार्यकाल आगामी मसान्तसम्मको लागि मात्रै हुने गरी करार संशोधन गरेसँगै उनले २०७८ माघसम्म मात्रै कार्यभार सम्हाल्ने छन् ।
बज्राचार्य २०७६ साउन १ गते इन्स्यारेन्सको सीईओ पदमा नियुक्त भएका थिए । उनले आगामी ४ वर्ष इन्स्योरेन्सको सीईओ पदमा रहेर जिम्मेवारी सम्हाल्ने गरी करार सम्झौता गरेका थिए । तर उनी चार वर्ष नबित्दै उक्त पदबाट बाहिरिने भएका छन् ।
सीईओ बज्राचार्य र कम्पनीले एक आपसी सहमतिमा करार संशोधन गरी २०७८ माघ मसान्तसम्म मात्रै कायम गरेको इन्स्योरेन्सले जानकारी गराएको छ । माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यससँगै आगामी फागुनदेखि इन्स्योरेन्सको सीईओ पद रिक्त हुने भएको छ ।