काठमाडौं । दोश्रो बजारमा दुई इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ । बिहीबारको बजारमा नेशनल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको सेयरमा लगानीकर्ताहरु आकर्षित भएका देखिन्छन् ।
बोनस र हकप्रद सेयर निष्काशनको प्रकृया अघि बढाएसँगै यी कम्पनीको सेयरमा लगानीकर्ताहरु आकर्षित भएका हुन् । र, नियमित कारोबार शुरु भएको पौने घण्टामै नेशनल लाईको सर्वाधिक कारोबार भएको छ भने शिखर सर्वाधिक कारोबार गर्नेको दोश्रो स्थानमा रहेको छ ।
११ बजेर ४३ मिनेट जाँदा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । र, दोश्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सको ३ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ ।
यी दुई कम्पनीको कारोबार रकमसँगै सेयर मूल्य पनि बढेको छ । यो समाचार तयार पर्दासम्म नेशनल लाईफको २१ रुपैयाँले बढेर प्रतिकित्ता ११४१ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शिखरको प्रतिकित्ता ५३.८० रुपैयाँले बढेर प्रतिकित्ता १९९० रुपैयाँमा सेयर किनबेच भइरहेको छ ।
नेशनल लाईफ इन्स्योरेन्स कारोबार रकममा मात्रै नभई कारोबार संख्या र कित्ताको आधारमा पनि अग्रस्थानमा रहेको छ । यो अवधिसम्म इन्स्योरेन्सको ४१३ पटकको कारोबारमा ८१ हजार ४० कित्ता सेयर किनबेच भईसकको छ ।
दुई कम्पनीमध्ये नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले हालै लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई आर्थिक वर्ष २०७६।७७ को नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हकप्रदको लागि शिखर इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति
त्यस्तै, शिखर इन्स्योरेन्सले पनि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रकृया अघि बढाएको छ । सो प्रयोजनको लागि इन्स्योरेन्सले आगामी माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।