काठमाडौं, १८ साउन । नेपाल क्रेडिट एण्ड कमर्श बैंक र चार वटा विकास बैंकले आपसमा मर्ज गर्न अन्तिम स्वीकृति माग गर्दै सोमबार राष्ट्र बैंकमा निवेदन गरेका छन् । राष्ट्र बैंकबाट स्वीकृत पाएमा कात्तिक एक गतेदेखि संयुक्त कारोबार गर्ने गरी बैंकहरुले तयारी थालेका छन् ।
मर्जपछि बैंकको नाम नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक राख्न सबै मन्जुर भएका छन् ।
मर्जमा जाने विकास बैंकहरुको तर्फबाट नाम परिवर्तन गर्ने र एनसीसी बैंकको तर्फबाट नाम परिवर्तन नगर्ने विषयमा लामो समय अडान लिएपछि अन्तिममा नाम एनसीसी राख्ने तर लोगो परिवर्तन गर्ने गरि सहमति जुटेको छ । मर्जपछि एनसीसी बैंकबाट ४ जना, चार विकास बैंकबाट १/१ जना र विज्ञ १ जनासहित ९ जनाको सञ्चालक समिति बन्ने सहमति भएको छ ।
मर्जपछिको अवस्था
नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा चार वटा विकास बैंक मर्ज हुँदा चुक्ता पुँजी ४ अर्ब ६८ करोड रुपैयाँ मात्र हुने भएको छ । मर्ज हुनुपूर्व सबै संस्थाको कुल चुक्ता पुँजी ५ अर्ब ६६ करोड रुपैयाँ भएपनि मर्ज स्वाप रेसियोका कारण ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ मात्र हुने भएको छ ।
मर्जपछि लगत्तै बैंकले करिव ३५ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । गत आर्थिक वर्षमा ५ वटा संस्थाले करिव १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
मर्जमा स्वाप रेसियो मिलान गर्दा करिव ९८ करोड रुपैयाँ सेयरधनीलाई वितरण गर्ने मिल्ने गरि संचित कोषमा जम्मा हुनेछ । दुबैलाई जोडेर बैंकले कम्तिमा ३५ प्रतिशत बोनस सेयर सेयरधनीलाई वितरण गर्न सक्ने बैंक सम्बद्ध उच्च स्रोतले बतायो । त्यसपछि अपुग करिव १ अर्ब ५० करोड सेयर पुँजी बढाउन चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर, हकप्रद सेयर वा मर्जर जुनसुकै विधिबाट गर्न सकिने गरि पुँजी वृद्धि योजना बनाउन लागिएको छ ।
मर्जपछि बैंकको निक्षेप ५८ अर्ब, कर्जा ४७ अर्ब रुपैयाँ, शाखा ९७ वटा र कर्मचारी १०२८ जना हुने भएको छ ।