कुमारी बैंकको सञ्चालक समितिको बैठकले बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाललाई नियुक्त गरेको छ । बैंकका हालका कामु सीईओ अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिष तिमल्सिनाले पदबाट राजीनामा दिएसँगै खनाल बैंकको कामु सीईओमा नियुक्त भएका हुन् । उनले सोमबारबाटै कार्यभार सम्हालेका हुन् । बैंकमा वरियताको हिसावमा तेस्रो रहेका खनाल कामु सीईओमा नियुक्त भएसँगै उनीसँग हामीले संक्षिप्त कुराकानी गरेका छौं ।
बैंकको कामु सीईओमा नियुक्त हुनु भएको छ, अब कसरी अगाडि बढ्नु हुन्छ ?
मेरो लागि यो समय चुनौतिको विषय होे । बैंकिङ क्षेत्र नै तरलताको समस्यामा छ । त्यस कारणले पनि नयाँ बिजनेस वृद्धि गर्दै अगाडि जान सकिने अवस्था छैन । बैंकिङ उद्योग नै अहिले सुरक्षित हिसावले काम गरिरहेको छ । त्यसैले पनि भइरहेको बिजनेसलाई निरन्तरता दिन मेरो प्रयास रहेनछ ।
कुमारी बैंकको व्यापार विस्तार र कर्मचारी व्यवस्थापन तथा प्रोत्साहनमा तपाईंको भूमिका के हुन्छ ?
पक्कै पनि बैंकको व्यापार विस्तार गर्नको लागि नेतृत्वको भूमिका अवश्य पनि महत्वपूर्ण हुन्छ । कर्मचारीलाई प्रोत्साहन तथा उनीहरुको व्यवस्थापन गर्ने विषय, सही व्यक्तिलाई सही ठाउँमा व्यवस्थापन गर्ने विषय ‘अनगोइङ प्रोसेस’ हो । हामी फेरि पनि कर्मचारी भर्नाको विषय सुरु गर्छौं । व्यापार विस्तार भन्दा पनि भइरहेकोलाई सुक्ष्म ढंगले निगरानी गरेर अगाडि बढ्छौं ।
तपाईं बैंकको तेस्रो वरियतामा हुनुहुन्थ्यो, एकैचोटी कामु सीईओको जिम्मेवारी पाउनु भयो, तपाईंले आफु माथि के कस्ता चुनौति देख्नु भएको छ ?
अहिलेको चुनौति भनेको नै तरलताको विषय हो । अहिले व्यालेन्स अफ पेमेन्ट डिफिसिट छ । अहिले चुनाव पनि घोषणा भएको छ । अब मार्केटमा फण्डहरु आएर ओभरकम होला भन्ने अपेक्षा छ । मैले लामो समयसम्म बैंकिङ क्षेत्रमा गरेको कामको अनुभव प्रदर्शन गर्ने पनि यो मेरो लागि अवसरको रुपमा मैले लिएको छु ।
कुमारी बैंकमा कामु सीईओको रुपमा रहेर तपाईंको प्राथमिकता कुन क्षेत्रमा हुन्छ ?
यो गर्छु यस्तो गर्छु भन्दा पनि मेरो मुख्य फोकस रिटेल निक्षेप र रिटेल कर्जा लगानी मै हुनेछ । अन्य कामहरू त अहिले पनि गरिरहेकै छौं ।
तरलताको समस्या भइरहेको बेला बैंकहरुलाई निक्षेप खोसाखोसको अवस्था छन्, यो अवस्थामा कुमारी बैंकलाई अगाडि बढाउन तपाईंको भूमिका के हुन्छ ?
मेरो भूमिका महत्वपूर्ण नै हुन्छ । अहिले पनि हामी तरलता व्यवस्थापन सक्षम ढंगले गरिरहेका छौं । आगामी दिनमा पनि यसरी नै अगाडि बढ्छौं । मैले भनिसकेँ अहिले नै आक्रामक रुपले व्यापार बढाउन सक्ने अवस्था छैन । भएको व्यापारलाई सन्तुलित ढंगले अगाडि बढाएर जान्छौं ।
सम्बन्धित सामग्री: कुमारी बैंकका कामु र डेपुटी सीईआले दिए राजीनामा, तेस्रो बरियताका खनालले पाए जिम्मेवारी