काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कम्पनीहरुलाई पुँजी वृद्धिमा जोड दिँदै आएको छ । समितिले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम साढे २ देखि ३ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँको पुँजी पुर्याउन अनौपचारिक रुपमा निर्देशन दिइसकेको छ ।
कम्पनीहरुको पुँजी आधार बलियो बनाएर कम्पनी बलियो बनाउन पुँजी बृद्धि गर्न लागिएको समितिको भनाई छ । समितिले अनौपचारिक रुपमा कम्पनीहरुलाई बोनस दिएर या हकप्रद सेयर जारी गरेर भएपनि पुँजी बढाउन दवाव दिइरहेको हो ।
तर, कम्पनीहरुलाई बोनस र हकप्रद सेयर जारीबाट पुँजी पुर्याउन धौधौं पर्ने देखिएको छ । अधिकांश कम्पनीहरुको प्रस्तावित बोनस सेयर अनुसार उनीहरुको पुँजी समितिले तोकेको अनुसार पुग्न धेरै कठिन छ ।
समितिकै कारण उनीहरुलाई पुँजी बढाउनमा भने केही राहात पनि मिलेको छ । समितिले नगद लाभांशमा रोक लगाएसँगै कम्पनीहरु बोनस सेयरमा केन्द्रित भएकाले उनीहरुको चुक्ता पुँजी बढ्नमा केही राहात मिल्ने देखिन्छ ।
हालसम्म १६ वटा बीमा कम्पनीहरुले बोनस/हकप्रद सेयर घोषणा गरेका छन् । जसमा ९ वटा निर्जीवन बीमा र ७ वटा जीवन बीमा कम्पनीहरु रहेका छन् ।
९ निर्जीवन बीमा कम्पनीमध्ये शिखर र आईएमई जनरल इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएका छन् भने बाँकीले बोनस सेयर वितरण गर्ने घोषणा गरिसकेका छन् । तर शिखर र आईएमई जनरलले अघिल्लो वर्षको नाफाबाट लाभांश वितरण गर्न पनि सक्नेछन्, हालसम्म घोषणा भने गरिसकेका छैनन् ।
प्रिमियर इन्स्योरेन्सले भने आर्थिक वर्ष २०७७/७८ को लाभांश प्रस्ताव गरि पारित समेत गरिसकेको छ । माघ २१ गते सम्पन्न प्रिमियरको वार्षिक साधारणसभाले प्रस्तावित १४.२५ प्रतिशत अर्थात १५ करोड ३१ लाख रुपैयाँ बराबरको बोनस सेयर पारित गरेको हो । यससँगै सो कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
शिखरको ३० प्रतिशत हकप्रदपछि चुक्तापुँजी २ अर्ब २७ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, आईएमई जनरलको ४० प्रतिशत हकप्रदपछि चुक्तापुँजी १ अर्ब ६१ करोड रुपैयाँ पुग्ने छ ।
१५ प्रतिशत बोनस घोषणा गरेको नेको इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ७४ करोड रुपैयाँ, प्रभुको ११ प्रतिशत बोनसपछि १ अर्ब २८ करोड, सिद्धार्थको १५ प्रतिशतपछि १ अर्ब २८ करोड र हिमालयन जनरलको ६.६५ प्रतिशत बोनसपछि १ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल, एभरेष्ट, सगरमाथा, प्रुडेन्सियल, यूनाइटेड, जनरल, नेशनल इन्स्योरेन्सले हालसम्म वार्षिक साधारणसभा डाकेका छैनन् । त्यसैले यिनीहरुले बोनस तथा हकप्रद सेयर प्रस्ताव गर्ने सम्भावना भने अझै छ ।
यता अजोड र आईएमई जनरल इन्स्योरेन्सले भने यसपाली सेयरधनीको हात खाली बनाएका छन् । अजोडले बोनस तथा हकप्रद सेयर प्रस्ताव बिनै आगामी फागुन ६ गते आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ । त्यस्तै, सानिमा जनरल इन्स्योरेन्सले पुस ३० गते नै गतवर्षको सभा सम्पन्न गरिसकेको छ ।
यता जीवन बीमा कम्पनीमा लाभांश घोषणा गरेकामध्ये नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सको भने साधारणसभा हुन बाँकी नै छ । अब यी कम्पनीको सभाले पारित गरेपछि नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब १९ करोड रुपैयाँ र नेशनल लाइफको ४ अर्ब ३ करोड रुपैयाँ चुक्तापुँजी पुग्ने छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसनले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई फागुन ११ गते हुने इन्स्योरेन्सको वार्षिक साधारणसभामा पेश गरिदैछ ।
ज्योति लाइफले १० प्रतिशत बोनस प्रस्ताव गरेको छ । प्रस्तावित बोनसपछि ज्योतिको चुक्तापुँजी २ अर्ब २४ करोड रुपैयाँ पुग्ने छ । ज्योतिले प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित गर्न आगामी फागुन ६ गते चौथो वार्षिक साधारणसभा डाकेको छ ।
एशियन लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । प्रस्तावित २५ प्रतिशत बोनस पछि एशियन लाइफको चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, १२.७ प्रतिशत बोनस सेयर घोषणा गरेको सूर्या लाइफ र १५ प्रतिशत बोनस सेयर घोषणा गरेको प्राइम लाइफको लाभांश पारित भएको छ । यससँगै यी दुई कम्पनीको चुक्तापुँजी क्रमशः २ अर्ब ५४ करोड र २ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।
यता रिलायन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने बोनस र हकप्रद मार्फत पुँजी वृद्धि गर्ने योजनामा नरहेको देखिएको छ । किनभने यीदुई कम्पनीले बोनस र हकप्रद प्रस्ताव बिनै आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् । रिलायन्स लाइफको सभाले भने सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) मात्रै वितरण गर्ने प्रस्तावलाई पारित गरेको थियो ।
त्यस्तै, महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी माघ २७ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले उक्त सभामा बोनस, नगद लगायत हकप्रद कुनैको पनि प्रस्ताव लगेको छैन ।