‘बीमा कम्पनीको नयाँ लाइसेन्स दिदैनौं, बरु संख्या घट्ला’

<p>काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीको लागि लाइसेन्स नदिने मनस्थिति बनाएको छ । नयाँ लाइसेन्सको लागि तिब्र दबाब परिरहेको समयमा समितिले नयाँ लाइसेन्स नदिने दाबी गरेको हो । नेपालको आर्थिक आकार र भुगोल अनुसार अहिले भएका कम्पनीहरु नै पर्याप्त भएकोले नयाँ लाइसेन्सको आवश्यकता नदेखिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘नयाँ कम्पनीको लागि [&hellip;]</p>

काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीको लागि लाइसेन्स नदिने मनस्थिति बनाएको छ । नयाँ लाइसेन्सको लागि तिब्र दबाब परिरहेको समयमा समितिले नयाँ लाइसेन्स नदिने दाबी गरेको हो ।

नेपालको आर्थिक आकार र भुगोल अनुसार अहिले भएका कम्पनीहरु नै पर्याप्त भएकोले नयाँ लाइसेन्सको आवश्यकता नदेखिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘नयाँ कम्पनीको लागि लाइसेन्स दिने तयारी र योजना केही छैन, अहिले भएका कम्पनीहरु नै पर्याप्त छन् भन्ने समितिको ठहर छ, त्यसैले नयाँ कम्पनी संचालनको लागि लाइसेन्स दिइदैन,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने ।

उनले भएकै कम्पनीलाई बलियो बनाउँदै जाने रणनीति अख्तियार गरिएको पनि बताए । अहिले संचालनमा रहेका कम्पनीहरुको पुँजी आधार ठूलो बनाउन समितिले नगद लाभांश वितरणमा रोक लगाएको छ । कम्पनीहरु आफ्नो नाफाबाट सेयरधनीलाई बोनस सेयर प्रदान गरी चुक्ता पुँजी बृद्धि गरिरहेका छन् ।

‘अहिले भएका कम्पनीहरु नै नेपालको लागि बढी भए कि भन्ने कोणबाट प्रश्नहरु उठिरहेका छन्, त्यसैको लागि हामी अध्ययन नै गर्दैछौं, कम्पनीको संख्या बढी भयो भन्ने अध्ययनले देखायो भने मर्जर र एक्वीजीसनमा बढी जोड दिनुपर्ने अवस्था आउँला, त्यसैकारण कम्पनीको संख्या बरु घट्ला, नयाँ लाइसेन्स दिएर संख्या बढाउने काम हुदैन,’ कार्यकारी निर्देशक पौडेलले भने ।

यद्यपि, लघु बीमाको लाइसेन्स भने दिने सोचमा समिति छ । बीमाको दायरा बढाउनको लागि ग्रामीण तहसम्म पुग्न लघु बीमा आवश्यक देखिएकोले त्यस्ता कम्पनीको नयाँ लाइसेन्स दिने तयारी समितिले गरेको छ । तर, कति संख्यामा लाइसेन्स दिने भन्ने यकिन भइसकेको छैन ।

नयाँ कम्पनीको लाइसेन्स माग्नेको ओइरो

समितिमा दिनदिनै नयाँ कम्पनीको लाइसेन्स माग्दै निवेदन दर्ता गर्नेको ओइरो लाग्न थालेको छ । अहिलेसम्म लघु बीमा कम्पनीको लागि १८ वटा निवेदन दर्ता भइसकेका छन् ।

यस्तै, निर्जीवन बीमा व्यवसायको लाइसेन्स माग्दै मनकामना, अभियान, गरिमा, मुक्तिनाथ, माछापुच्छ्रे, उपकार लगायतका प्रस्तावित नामका कम्पनी समिति पुगेका छन् । यसमध्ये गरिमा विकास बैंक संचालन गरिरहेको समुहले गरिमा जनरल, मुक्तिनाथ विकास बैंक संचालन गरिरहेको समुहले मुक्तिनाथ जनरल र उपकार सहकारी संस्था संचालन गरिरहेको समुहले उपकार जनरल इन्स्योरेन्स कम्पनीको नाममा लाइसेन्स मागेको हो । मनकामना जनरल भने यसअघिका अध्यक्ष चिरन्जिवी चापागाईंको पालामै लाइसेन्स माग्दै दर्ता भएको कम्पनी हो ।

पूर्व अध्यक्ष चापागाईंकै कार्यकालमा लाइसेन्स माग्दै दर्ता भएका युनि लाइफ र स्ट्याण्डर्ड लाइफले लाइसेन्स दिनको लागि समितिसँग फेरि माग गरेका छन् । यी दुबै कम्पनीले जीवन बीमा व्यवसाय गर्ने कम्पनीको अनुमति मागेका हुन् । उपकार सहकारी संस्था चलाउने समुहले उपकार लाइफ इन्स्योरेन्स कम्पनीको पनि लाइसेन्स मागेका छन् । यस्तै, जीवन बीमा व्यवसाय गर्नको लागि अनुमति माग्दै पायोनियर लाइफको तर्फबाट पनि निवेदन दर्ता भएको समिति स्रोतले जानकारी दियो ।

Share News