तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले किसानको शून्य लागतमा पशुधन बीमा गरिदिएको छ । सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत रकम व्यहोर्ने गरी पशुधनको बीमा गरिएको हो । पशु बीमाको प्रिमियमका लागि ४० लाख विनियोजन गरिएको सो कार्यालयले जनाएको छ ।
व्यावसायिक रुपमा पशु फार्म सञ्चालन गरेका किसानको दुई लाखसम्मको बीमा गरिएको कार्यालयका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । पशुपालन गर्दा कतिपय अवस्थामा वस्तुले हानेर फार्म सञ्चालकको मृत्यु हुने गरेकोले किसानको समेत बीमा गरिएको उनले बताए ।
गत आर्थिक वर्ष सङ्घीय सरकारबाट ७५ प्रतिशत र गण्डकी प्रदेश सरकारबाट २५ प्रतिशत बीमाका लागि सहयोग प्राप्त भएकोे थियो । गतवर्ष एक हजार पाँच सय एघार किसानले ४५ लाख बराबरको प्रिमियम लिएका थिए । कार्यालय प्रमुख श्रेष्ठले भने,’यस वर्षको साउनदेखि हालसम्म दुई सय किसानले पशु बीमा गराएका छन्, पछिल्लो समय बीमातर्फ किसानको आर्कषण बढ्दै गएको पाइन्छ ।’
पशुपालक किसानमा बीमा गर्नुपर्छ भन्ने चेतना आएको छ । कुनै वर्ष किसानले पशुको बीमा नगर्दा विनियोजित बजेट पनि फ्रिज भएर फिर्ता भएको थियो । गतवर्ष स्रोह हजार ६२९ पशुको बीमा गराउँदा ४० करोड २० लाख बीमाङ्क रकम बराबरको पशुधन बीमा भएको थियो ।
यसरी पशुधन बीमा गराउँदा कुनै कारणले पशुको मृत्यु भएमा ९० प्रतिशतसम्म किसानले क्षतिपूर्ति पाउने भएकोले ठूलो क्षति हुनबाट जोगाउन सकिने हुँदा पशुधन बीमालाई प्राथामिकतामा राखिएको हो ।
मासु, अण्डा र दूधमा जिल्ला आत्मनिर्भर भई बाह्य जिल्लामा निर्यातसमेत गर्न थालिसकेको बताइएको छ । दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत किसानलाई प्रतिलिटर दूधमा साढे दुई रुपैयाँ अनुदान दिन थालिएको छ । रासस