काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को दोश्रो त्रैमासिक (पौष मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १०३.७९ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको पौष मसान्तमा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ३९ करोड ८१ लाख रहेकोमा यस पौष मसान्तमा सो रकम ४ अर्ब ८८ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
यसका साथै कम्पनीले गत आर्थिक वर्षको पौष मसान्तसम्ममा कुल बीमाशुल्क १ अर्ब ४० करोड २१ लाख रुपैयाँ संकलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४८ करोड ३१ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ ।
यसरी हेर्दा बीमा शुल्क आर्जन ७७.१० प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा १०३.७९ प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ७९ करोड ६४ लाखबाट ११.७२ प्रतिशतले बढाएर ८८ करोड ९८ लाख रुपैयाँको उचाई चुमाएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ४१.६० प्रतिशतको वृद्धि गरी ३२ करोड ७९ लाख पुर्याएको छ ।
जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ७ अर्ब ६४ करोड मध्ये करिब ७४.६७ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ ।