काठमाडौं । नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन् ।
सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको उल्लेख गर्दै जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले केही दिन तापक्रम वृद्धि निरन्तर बढ्नसक्ने बताए ।
उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्र पुगेको अवस्थामा तातो हावा आउने उल्लेख गरे । उनले नेपालमा केही दिन यसको सम्भावना भएकाले सर्तक रहन सबैलाई आग्रह गरेका छन् ।
‘तातो हावा चलेको अवस्थामा पर्यावरण सुख्खा रहने, कम पानि पर्ने हुँदा प्रदुषण बढ्ने र ठुलो वेगको हावा चल्दा भौतिक संरचनाहरुमा क्षति पुग्नासक्छ । यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्व सुचना दिनु आवश्यक छ । तापक्रम वृद्धि भई अत्याधिक हावा चल्ने हुँदा कृषि प्रणालीमा समेत असर पर्ने भएकाले सजग हुनुपर्छ,’ उनले भने ।
यस्तै उनले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर तिव्र रुपमा देखा परिरहेको पनि बताएका छन् ।