काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि सरोकारवाला निकायसँग सुझाव माग गरेको छ ।
मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी प्रयोजनका लागि सरोकारवालाबाट चैत मसान्तभित्र सुझाव माग गरेको हो ।
आगामी आर्थिक वर्षको बजेट तथा कार्र्यक्रममा समावेश गर्न उपयुक्त विषयमा विभिन्न संघ–संस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत र आम नागरिकले सुझाव दिन सक्नेछन् ।
मन्त्रालयको वेवसाइटमा रहेको ‘बजेट सजेसन ट्याव’ मार्फत वा ‘बजेटसजेसनएटएमओएफडटजीओभीडटएनपी’ मार्फत समेत पठाउन सकिनेछ ।
मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९–८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ । मन्त्रालयले मंगलबार दिउँसो कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो ।
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको अध्यक्षतामा २९ फागुनमा बसेको बैठकले ५ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेकाे थियाे । राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल संयोजकत्वमा मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख इश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र बित्तिय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी सदस्य रहेका छन् ।