
काठमाडौं । भक्तपुरको सूर्यविनायकमा करिब २ करोडको लागत थोक तथा खुद्र तरकारी बजार सञ्चालनमा आएको छ । व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरमा तरकारी बजार सञ्चालनमा ल्याएका हुन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-८ मा ५० रोपनी क्षेत्रफलमा प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याएका हुन् । २०७५ सालबाट निर्माण कार्य सुरु भएको उक्त बजारको निर्माण कार्य सम्पन्न भइसकेको हो । कोरोना महामारीका कारण केही ढिला सम्पन्न भएका प्रसाईंले बताए ।
पसलको नाम ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’राखिएको छ । उक्त तरकारी बजारमा ४४ सय जनाले प्रत्यक्ष रोजगारी पाउने प्रसाईंले बताए।
तरकारीमा बिचौलियाको अन्त्य गरी किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाईंले बताए ।
बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त तरकारी बजारको उद्घाटन गर्ने कार्यक्रम रहेको आज पत्रकार सम्मेलनमार्फत उनले जानकारी दिए ।