
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/०८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको छ ।
आगामी आवको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधिबाहेक दूरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्रि नम्बर संचालनमा ल्याएको जनाएको छ । मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ ।
त्यस्तै मन्त्रालयको वेभसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लिक गरेर पनि सुझाव पेश गर्न सक्ने व्यवस्था गरिएको छ भने इमेलमार्फत पनि सुझाव पेश गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजिवी, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, संचारकर्मी, आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव महत्त्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक बिषयबस्तुहरु चैत मसान्तभित्र लिखित वा मौखिक (टेलिफोन) रुपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयले अहिले कृषि, शिक्षा, बैंक, वित्तीय संस्था तथा बिमा क्षेत्र, निजी क्षेत्र, अर्थविद्गायतसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिसकेको छ ।