
काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा नेपाल बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् ।
मंगलबार बैंक नेपाल बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन् । उक्त अफर चैत २८ गतेदेखि लागू हुने बैंकले जनाएको छ ।
नेपाल बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँ सम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्नेछन् ।
उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । त्यसको लागि बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजैदेखि आवेदन दिनसमेत आग्रह गरेको छ ।