‘नियामकले खुट्टा कमाउनु हुँदैन, बीमा कम्पनीको संख्या १० भन्दा तल झार्नुपर्छ’

<p>काठमाडौं । बीमा समितिले चुक्ता पुँजी बृद्धिको विधिबाट बीमा कम्पनीको संख्या घटाउनको लागि निकालेको उपाय अहिले वहसको केन्द्रमा छ । समितिले पुँजी बृद्धिको कुरा गरेपनि परोक्ष रुपमा फोर्सफुल मर्जर गराएर कम्पनीको संख्या घटाउन लागिएको भन्दै आलोचना पनि भइरहेको छ । तर, केही सरोकारवालाले भने कम्पनीको संख्या घटाउनै पर्ने भएकोले बीमा समितिले सही उपाय अबलम्बन गरेको [&hellip;]</p>

काठमाडौं । बीमा समितिले चुक्ता पुँजी बृद्धिको विधिबाट बीमा कम्पनीको संख्या घटाउनको लागि निकालेको उपाय अहिले वहसको केन्द्रमा छ । समितिले पुँजी बृद्धिको कुरा गरेपनि परोक्ष रुपमा फोर्सफुल मर्जर गराएर कम्पनीको संख्या घटाउन लागिएको भन्दै आलोचना पनि भइरहेको छ ।

तर, केही सरोकारवालाले भने कम्पनीको संख्या घटाउनै पर्ने भएकोले बीमा समितिले सही उपाय अबलम्बन गरेको भन्दै प्रसंसा पनि गरेका छन् । अहिले बीमा कम्पनीको संख्या बढी भएको, दक्ष जनशक्तिको अभाव र भएकै कर्मचारी तानातान भएको, बजार सानो हुँदा अस्वस्थ्य प्रतिस्पर्धा बढेको जस्ता आधार कम्पनीको संख्या घटाउनु पर्ने तर्क गर्नेहरुले दिएका छन् ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने नीतिगत व्यवस्था गरेपछि यस्तो वहसले अझ बढी चर्चा पाएको हो ।

समितिले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी बृद्धि गर्ने निर्णय गरेको थियो । समितिले तोके अनुसारका चुक्ता पुँजी आगामी चैत मसान्तभित्रमा पुर्याइसक्नु पर्ने र पुँजी बृद्धि गर्ने योजना बैशाख १० गतेभित्र समितिमा पेश गरिसक्नु पर्ने निर्देशन कम्पनीहरुलाई दिएको थियो ।

समितिले दिएको निर्देशन अनुसार बीमा कम्पनीहरुबाट पुँजी बृद्धिको योजना आइरहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । अहिलेसम्म प्रुडेन्सीयल, एभरेष्ट, आईजीआई, महालक्ष्मी लाइफ, एसियन लाइफ, नेसनल लाइफ, सानिमा जनरल, एलआईसी नेपाल, नेको, मेटलाइफ, सन नेपाल लगायत बीमा कम्पनीहरुले पुँजी बृद्धि योजना पेश गरिसकेका छन् ।

‘कम्पनीहरुले पुँजी बृद्धिको योजना पेश गरिरहेका छन्, उनीहरुले पेश गरेको योजनाको अध्ययन गरेर हामी निर्णयमा पुग्छौं,’ कार्यकारी निर्देशक पौडेलले भने ।

समितिले तोकेको बैशाख १० गते सार्वजनिक विदा परेकोले समितिमा योजना पेश गर्न बाँकी कम्पनीहरुले बैशाख ११ गतेसम्ममा योजना पेश गर्ने तयारी गरेका छन् ।

यसरी पुँजी बृद्धि योजना पेश गर्नेमध्येको महालक्ष्मी लाइफले मर्जरमा जाने योजना पेश गरेको छ । अहिले कम्पनीहरुको संख्या बढी भएको र प्रतिफल पनि कम हुने भएकोले मर्जरको विकल्प नभएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए ।

‘बीमा कम्पनीहरुको संख्या बढी भयो, जीवन बीमा कम्पनीको संख्या र निर्जीवन बीमा कम्पनीको संख्या १० भए पुग्छ, अहिले यो संख्या दोब्बर छ, त्यसैले मर्जरमा जानु नै उृचित देखेर हामीले सोही अनुसारको योजना पेश गरेका छौं,’ कार्यकारी निर्देशक भट्टराईले भने ।

उनले बीमा कम्पनीहरुको संख्या यति नै राखेर पुँजी मात्रै बढाउँदा कसैलाई पनि फाइदा नहुने बताए । यसको लागि उनले बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी बृद्धिपछिको अवस्थालाई उदाहरणका रुपमा पेश गरेका छन् ।

‘अहिले राम्रा बैंकहरुको पनि सेयर मूल्य २ सयदेखि ३ सयको बीचमा छ, १० देखि १२ वर्ष पुराना बैंकको प्रमोटर सेयर त १२० देखि १३० रुपैयाँमा नै पाइन्छ, बैंकले दिने प्रतिफल पनि घटिरहेको छ, यो उदाहरण बीमा क्षेत्रको हकमा पनि लागू हुन्छ, कम्पनीको संख्या यति नै राखेर पुँजी बढाएर जाने हो भने सेयर मूल्य पनि अहिलेको भन्दा निकै कम हुन्छ र कम्पनीले दिने प्रतिफल निकै कम भएर जान्छ, त्यसैले मर्जरमा जानुको विकल्प छैन, नियामकले पनि राइट हाल्न नदिने जसरी हुन्छ मर्जर नै गराएर संख्या कम गराउनु पर्छ,’ कार्यकारी निर्देशक भट्टराईले भने ।

करिब ३ दशक बैंकिङ र बीमा क्षेत्रमा सक्रिय रहेका भट्राई यसअघि महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । उनी सो बैंकको प्रमुख कार्यकारी अधिकृत रहेको समयमा बैंक २ पटक अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा गएको थियो ।

महालक्ष्मी बाहेकका अन्य बीमा कम्पनीहरुले पनि मर्जरलाई विकल्पको रुपमा पेश गरेका छन् । केही कम्पनीहरुले भने योजना पेश गर्ने म्याद थपिदिन समितिसँग आग्रह पनि गरेका छन् ।

Share News