‘व्यवसायमा कर छुट, रोजगार बैंक स्थापनादेखि हरेक स्थानीय तहमा औद्योगिक ग्रामसम्म’

<p>काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमको आयोजना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् । काँग्रेसले घोषणा पत्रमा कर कानून पालनाको रणनीति कार्यान्वयन गर्ने, सरल र सहज कर कानून बनाउने, जनताको कर तिर्ने क्षमता अनुसारको प्रगतिशील दररेट कायम गर्ने, करको [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमको आयोजना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

काँग्रेसले घोषणा पत्रमा कर कानून पालनाको रणनीति कार्यान्वयन गर्ने, सरल र सहज कर कानून बनाउने, जनताको कर तिर्ने क्षमता अनुसारको प्रगतिशील दररेट कायम गर्ने, करको मानक तय गर्ने, कर अनुपालनाको लागि अनुगमन र परीक्षण र व्यवसाय कर कटौति तथा छुट दिने प्रतिवद्धता गरेको छ ।

काँग्रेसले घरबाहल कर अन्तर्गत घरधनी वा बहालवालाले घर बहालको स्वघोषणा यथार्थभन्दा न्यून गर्न सक्ने जोखिमलाई प्रविधि र सूचनामार्फत न्यूनीकरण गर्ने, घर बहालको कर निर्धारण गर्ने बिगतको अनुभवबाट सिक्दै परिष्कृत गर्दै जाने, प्रविधिको प्रयोगमार्फत् स्थान विशेषको चलन चल्तीको बहाल दरको सूचना, व्यावसायिक र आवास प्रयोजनको करमा भिन्नताको प्रयोग गर्ने, संघीय आयकरमा घर बहाल कर कट्टीको लागि आवश्यक पहल गर्ने लगायतका विषयहरू उल्लेख गरेको छ ।

यस्तै, व्यवसायको आम्दानी कम स्वघोषणा हुने जोखिम न्यूनीकरण गर्न सहरी क्षेत्रलाई जोनिङ गर्ने र प्रविधिमार्फत् सूचना अद्यावधिक गर्ने र यस सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, व्यवसाय कर सब्घीय आयकरसँग दोहोरो पर्न सक्ने हुनाले संघीय आय विवरणमा करकट्टीको लागि पहल गर्ने विषय पनि उल्लेख छ ।

घोषणा पत्रमा हरेक स्थानीय तहमा एउटा स्रोत साधन युक्त उद्यम विकास केन्द्रको सञ्चालन गर्ने, वैदेशिक रोजगारमा संलग्न वा फर्केका व्यक्तिहरूलाई उद्यम सञ्चालन गर्न सहजता गर्ने, स्थानीय तहमा उपलब्ध हुने वा हुन सक्ने रोजगारीका सूचना तथा तथ्याड्ढ सहितको रोजगार बैंक स्थापना गर्ने, रोजगारीको खोजीमा रहेकाहरुको सहयोगका लागी रोजगार बैंकले सूचना उपलब्ध गराउने तथा सहजकर्ताको काम गर्ने, माग, रोजगारी र स्वरोजगारीको संभावना पहिचान गर्ने, युवाहरुले औपचारिक वा अनौपचारिक माध्यमबाट सिकेको सीपको परीक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा उनीहरूको पेशाको पहिचान र समकक्षी मान्यता प्राप्त हुने व्यवस्थाका लागि संघीय सरकारसँग समन्वय गर्ने लगायतका प्रतिवद्धताहरु गरेको छ ।

यस्तै, सेवाक्षेत्रलाई प्रवर्द्धन गर्न हस्पिटालिटीजस्ता विषयको तालिम, लगानीको माहोल बनाउनका लागि स्थानीय राजनीतिक अगुवा, कर्मचारी, शिक्षक र नागरिक समाजलाई उद्यमशिलता र लगानीको महत्त्वबारे अभिमुखीकरण, साना तथा घरेलु उद्योग सञ्चालन तथा उद्यमीहरूको क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन, कच्चा पदार्थको व्यवस्थापन र बजारीकरण, बजार सूचना केन्द्रको विकास, प्रविधि, बजार, रोजगारी र लगानी अभिवृद्धिका लागि निजीक्षेत्र, विकास साझेदार, संस्थाहरू, गैर सरकारी संस्था र सरकारका अन्य निकायहरूसँग सहकार्य, घरेलु उद्योगलाई ठुला खरिदकर्ता र सुपर मार्केटसँग सम्बन्ध कायम गरिदिने र स्थानीय उत्पादन, कच्चापदार्थ, स्रोतहरुको पहिचान गरी लगानीका नीति बनाई स्थानीयतहमा उधोगहरुको प्रवर्धन गर्ने विषय घोषणा पत्रमा उल्लेख छ ।

काँग्रेसले स्थानीय सरकारले उपयोग र उपभोग गर्ने वस्तु सामाग्रीमा खाना, स्थानीय वस्तुहरुलाई प्राथमिकता दिने नीति बनाउने, हाटबजार तथा बजारमेला र प्रदर्शनीहरू आयोजना गरिने, आर्थिक प्रतिफल रोजगारी दिने परियोजना बैंकको अवधारणालाई संस्थागत गरी, एक स्थानीय तह एक औद्योगिक ग्राम’को अवधारण अगाडि बढाउने विषयलाई पनि प्राथमिकतामा राखेको छ ।

विप्रेषणबाट प्राप्त आय उत्पादन क्षेत्रमा लगानी गर्न चाहनेलाई कर छुटको पहल, स्थानीय आर्थिक विकासको रणनीति, कानूनी खाका र निरन्तर संवाद गर्ने गराउने र निकायको विकासमा अन्तर स्थानीय तहको संयुक्त प्रयास गर्नेलगायत विषय घोषणा पत्रमा उल्लेख छन् ।

सम्बन्धित सामग्री :  कांग्रेसको घोषणापत्र सार्वजनिक : भ्यूटावर नबनाउने, आफन्तलाई नियुक्त नगर्ने

Share News