काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिनामा २८ अर्ब ७० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । जुन अघिल्लो महिनाको तुलनामा १३.३२ प्रतिशतले बढी हो ।
सञ्चालित १९ वटा कम्पनीहरूले अघिल्लो महिना अर्थात फागुन मसान्तसम्म २५ अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेका थिए ।
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार कम्पनीहरूले चैत मसान्तसम्ममा २१ लाख ७५ हजारवटा बीमालेख जारी गरी २८ अर्ब ७० करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएका हुन् ।
जसमध्ये सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा शिखरको अग्रता कायमै रहेको छ । समीक्षा अवधिमा शिखरले एक लाख ८० हजार ७९९ वटा बीमालेख जारी गरी ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।
त्यस्तै, २ अर्बभन्दा बढी र ३ अर्बभन्दा कम बीमाशुल्क संकलन गर्नेमा सगरमाथा इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन् । उनीहरुले क्रमशः दुई अर्ब ४२ करोड र दुई अर्ब २३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
यता एक अर्बभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा १३ वटा कम्पनी रहेका छन् । जसमा पनि चार वटा कम्पनीबीच नेक टु नेक प्रतिस्पर्धा देखिएको छ । बीमाशुल्कको आधारमा आईएमई जनलर, हिमालयन जनरल, अजोड र यूनाइटेड इन्स्योरेन्सबीच दह्रो टक्कर देखिएको छ ।
यी चार वटै कम्पनीले करिब सवा एक अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यीमध्ये यूनाइटेड इन्स्योरेन्सले भने सबैभन्दा बढी संख्यामा बीमालेख जारी गरेको छ । अरु तीन कम्पनीले पौने एक हजार वटा बीमालेख जारी गर्दा युनाइटेडले एक लाख २७ हजार वटा बीमालेख जारी गर्न सफल भएको छ ।
एक अर्बभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा एभरेष्ट, जनरल, सानिमा र नेशनल इन्स्योरेन्स रहेका छन् । यीमध्ये सबैभन्दा कम आर्जन गर्नेमा नेशनल इन्स्योरेन्स छ । इन्योरेन्सले चालु आवको ९ महिनामा १७ हजार २२९ वटा बीमालेख जारी गरी ६७ करोड ८८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।
कुनको कति ?
