बीमा कम्पनीलाई मर्जरमा जान समितिले दवाव दिएको छैन : अध्यक्ष सिलवाल

<p>काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव नदिई त्यसको लागि बाटो खोलिदिएको बताएका छन् । मर्जरको कुरा बीमा कम्पनीहरुबाटै आएको बताउँदै उनले यसमा समितिले दवाव नदिएको स्पष्ट पारेका हुन् । &#8216;मर्जरको कुरा बीमा कम्पनीहरुबाटै आएको हो, बीमा समितिले मर्जरमा जान दबाब दिएको छैन, समितिले त मर्जरमा जान बाटो खोलिदिएको मात्र [&hellip;]</p>

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव नदिई त्यसको लागि बाटो खोलिदिएको बताएका छन् । मर्जरको कुरा बीमा कम्पनीहरुबाटै आएको बताउँदै उनले यसमा समितिले दवाव नदिएको स्पष्ट पारेका हुन् ।

‘मर्जरको कुरा बीमा कम्पनीहरुबाटै आएको हो, बीमा समितिले मर्जरमा जान दबाब दिएको छैन, समितिले त मर्जरमा जान बाटो खोलिदिएको मात्र हो,’ उनले भने ।

बीमा समितिको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित निर्जीवन बीमा कम्पनीहरुसँगको पुँजी वृद्धि सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले सो बताएका हुन् । साथै, समितिले जारी गरेको जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशिका आगामी २०८१ सालदेखि पूर्णरुपमा लागू हुने र त्यसका लागि पनि थप पुँजी आवश्यक पर्न सक्ने समेत बताएका छन् ।

मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पुँजी वृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउनै पर्ने उनको भनाई छ ।

‘बीमा समितिले बीमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पुँजी वृद्धिको निर्णय गरेको हो, बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो, बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पुँजी बढाउनै पर्छ, त्यसमा सहजीकरण गर्न बीमा समिति तयार छ,’ उनले भने ।

साथै, बीमा कम्पनी पूर्ण क्षमतामा चल्न, दाबी भुक्तानी गर्न, कम्पनीको नाफा बढाउन, देशका ग्रामीण भेगका जनतासम्म बीमाको पहुँच पुर्याउन, बीमाका लागि पर्याप्त स्रोत र संभावना भएको स्थानीय तहमा जान र शाखा कार्यालयहरू स्रोत साधनले सम्पन्न बनाउन अध्यक्ष सिलवालको आग्रह छ ।

त्यस्तै, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले तोकिएको एक महिनाको अवधिमा करिव करिव सबै बीमा कम्पनीबाट पुँजी वृद्धिको योजना समितिमा प्राप्त भइसकेको जानकारी दिए । साथै, पुँजी वृद्धिका लागि कतिपयले हकप्रद सेयर, कतिपयले बोनस सेयर, कतिपयले मर्जर र कतिपयले समयावधि थपको विषय योजना समावेश गरेको जानकारी दिए ।

कार्यकारी निर्देशक पौडेलले बीमा कम्पनीको संख्या धेरै भए पनि बीमाप्रतिको विश्वसनीयता बढ्न नसकेको र दाबी भुक्तानीमा समस्या देखिएको औंल्याउँदै बीमा बजारलाई मर्यादित, सुशासित र दीगो बनाउने उद्देश्यले पुँजी वृद्धिको निर्णय भएको बताए ।

साथै, निर्जीवन बीमा कम्पनीहरुलाई बोलाएर छलफल गरेको समितिले जीवन बीमा कम्पनीहरुलाई पनि बोलाउने तयारी गरेको छ । समितिका कार्यकारी निर्देशक पौडेलका अनुसार जीवन बीमा कम्पनीलाई आगामी बैशाख २० गते पुँजी वृद्धिको विषयमा छलफल गर्न बोलाइएको छ ।

Share News