काठमाडौं । सोमबारको बजारमा कूल ७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । दोहोरो अंकले घटेको बजारमा पनि एनएलजी इन्स्योरेन्ससहित ६ लघुवित्तको सेयर मूल्य बढेको हो ।
जसमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ११४.२० रुपैयाँले बढेर प्रतिकित्ता १२५६.८० रुपैयाँ पुगेको छ । त्यस्तै, एनएजली इन्स्योरेन्सको १.०७ प्रतिशतले बढेर प्रतिकित्ता ७५८ रुपैयाँ पुगेको छ ।
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको २र२ प्रतिशत, सबैको लघुवित्त वित्तीय संस्थाको १.८६ प्रतिशत, नेरुडे लघुवित्त वित्तीय संस्थाको ०.४१ र माहुली लघुवित्त वित्तीय संस्थाको ०.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
समग्रमा नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.०७ प्रतिशतले घटी हो । सोमबारको बजारमा कारोबार शुरु भएदेखि नै सेयर बजारमा निरन्तर रुपमा ओरालो लागेको हो ।
त्यस्तै, कारोबारमा आएका सबै समूहहरु राताम्मे भएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ३४२.२५ बिन्दुले घटेको छ ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभरको सेयर कारोबार १ अर्ब ४२ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो कारोबारमा बजारमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
सोमबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
बजारमा नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ५१ रुपैयाँले घटेर प्रतिकित्ता ४५९ रुपैयाँमा झरेको छ ।