काठमाडाैं । अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि, उत्पादन रोजगारीमा केन्द्रित हुने बताएका छन् ।
बुधबार नेपाली अर्थतन्त्रको आगामी दिशा विषयकमा राजधानीमा आयोजित एक कार्यक्रममा उनले अहिले वाह्य क्षेत्रमा दवाव परेकोले अबको बजेट अर्थतन्त्र सुधारका लागि बजेटमा कृषि, रोजगारी र उत्पादनमुलक क्षेत्र केन्द्रित हुने बताए ।
‘कृषि क्षेत्रमा हामी खस्किदै गएका छौं, गत वर्ष ३ खर्ब २५ अर्बको कृषिजन्य वस्तुको आयात भएको थियो, यो समस्या नै हो, अब कृषिमा फरक नीति र कार्यक्रम हुनै पर्छ, उत्पादनमा आधारित अर्थतन्त्र नीति अगाडि बढाएर रोजगारीलाई सपोर्ट गर्ने कार्यक्रम ल्याउनै पर्छ, बजेट यिनै क्षेत्रमा प्राथमिकतामा राखेर आउँछ,’ उनले भने ।
नेपाली अर्थतन्त्रको वर्तमान अवस्था र सरकारले चालेको कदम विषयमा आफ्नो धारणा राख्दै उनले अहिले वाह्य क्षेत्र दवावमा रहेको धारणा राखे ।
कोभिड महामारीपछि अर्थतन्त्र पुनरुत्थानको दिशामा र यससँगै केही समस्या सिर्जना भएको उनको भनाइ छ । पर्यटन क्षेत्रमा पनि सुधार भइरहेको धारणा राखे । उनले राष्ट्रिय योजना आयोगले ५.८ आर्थिक वृद्धि हुने अनुमान गरेपनि पुनस् बढ्छ कि भन्ने अपेक्षा रहेको बताए ।
अन्तरार्ष्ट्रिय कारणबाट केही अवरोध सिर्जना भएको बताउँदै उनले अर्थतन्त्र सुधारको गतिमा रहेको बताए । उनका अनुसार अत्याधिक आयातले वाह्य क्षेत्रमा दवाव सिर्जना भएको हो ।
उनले आयात उच्च भएकै कारण एलसीलाई कडाइ गरेको बताउँदै अब केही सुधार हुने अपेक्षा रहेको बताए । उनले पछिल्लो केही महिना रेमिट्यान्स पनि बढ्दै गएको बताए । उनले वाह्य कारणले मुद्रास्फितिको चाप बढ्ने होकि भन्ने चिन्ता रहेको पनि बताए ।