काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा कम्पनीले साढे ८ अर्ब रुपैयाँ बढी लगानी सेयर बजारमा गरेका छन् । जुन पुस मसान्तको तुलनामा ५ करोड १९ लाख रुपैयाँले बढी हो । कम्पनीहरुले अघिल्लो त्रैमास अर्थात पुस मसान्तसम्ममा ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी दोश्रो बजारमा सूचीकृत कम्पनीको सेयरमा गरेका थिए ।
सञ्चालित १९ कम्पनीमध्ये १८ कम्पनीले सो मात्राको लगानी गरेका हुन् । बीमा समितिको तथ्यांक अनुसार सञ्चालित मेटलाइफ एलिको बाहेक अन्य कम्पनीले सो मात्राको लगानी गरेका हुन् ।
लगानी गरेका कम्पनीमध्ये रकमको आधारमा सबैभन्दा बढी लगानी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) को छ । कम्पनीले चालु आवको ९ महिनामा मात्रै २ अर्ब ९० करोड रुपैयाँ बराबरको लगानी गरेको छ । जुन गत तीन महिनायताकै ८९.२४ प्रतिशतले बढी हो । एलआईसीले गत पुससम्मको १ अर्ब ५३ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेको थियो ।
त्यस्तै, नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्सले हालसम्म १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । बजारमा सबैभन्दा कम लगानी गुराँस लाइफ इन्स्योरेन्सको छ । इन्स्योरेन्सले हालसम्म ६९ लाख २५ हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जुन पुसमसान्तको तुलनामा स्थिर छ ।
त्यस्तै, गत पुसदेखि चैतसम्मको लगानी प्रतिशत हेर्ने हो भने अधिकांशले लगानी बढाएका छन् । र, तीन वटा कम्पनीको लगानी स्थिर छ भने ५ वटा कम्पनीले भने घटाएका छन् । लगानी घटाउनेमा नेपाल लाईफ, रिलायबल लाईफ, आईएमई लाईफ, प्रभु लाईफ र सिटिजन लाईफ रहेका छन् । यी कम्पनीले क्रमशः ५७.३७, ४०.६०, ३८.०४, ३७.७६ र ३.५५ प्रतिशतले सेयरमा लगानी घटाएका छन् ।
यता प्रतिशतको आधारमा सबैभन्दा बढी लगानी बढाउनेमा ज्योति लाइफ इन्स्योरेन्स छ । ज्योतिले गत तीन महिनाको अवधिमै ११५ प्रतिशतले सेयर लगानी बढाएको छ । गत पुससम्म ६ करोड ५२ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको इन्स्योरेन्सले चैत मसान्तसम्ममा १४ करोड २ लाख रुपैयाँ बराबरको लगानी गरेको देखिन्छ ।
पुसयता लगानी बढाएको कम्पनीमध्ये सबैभन्दा कम प्रतिशतले बढाउनेमा सूर्या लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सले पुसदेखि यता २.६५ प्रतिशतले लगानी बढाएर चैतसम्ममा ३३ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ ।
राष्ट्रिय बीमा संस्थान, सानिमा लाईफ र गुराँस लाईफ इन्स्योरेन्सको सेयर लगानी भने स्थिर छ । जसमध्ये राष्ट्रिय बीमा संस्थानले १८ करोड ६५ लाख, सानिमाले २ करोड ६४ लाख र गुराँसले ६९ लाख रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा गरेका छन् । जुन पुसदेखि यता स्थिर छ । घटबढ छैन ।
जीवन बीमा इन्स्योरेन्स कम्पनीहरुले नेप्सेमा सूचीकृत कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था रहेको छ । सोहि अनुसार उनीहरुले दोश्रो बजारमा लगानी गर्दै आएका छन् ।
कसले कति गरे ?