काठमाडौं । पछिल्लो समय घट्दो सेयर बजारले निरन्तरता पाएको छ । आगामी आर्थिक वर्षको बजेटले पनि घट्दो बजारलाई सम्बोधन गर्न नसकेको कारणले घट्दो बजारलाई थप टेवा पुगेको देखिन्छ ।
र, बजेटपछिको बजार दैनिक दोहोरो अंकले घटिरहेको छ । शुक्रबारको बजार पनि कारोबार शुरु भएको आधा घण्टामै घटेर २१ सय बिन्दुभन्दा तल झरेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको बजार बन्द हुँदा ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६० प्रतिशत घटी हो भने यसअघिको उच्चतम बिन्दुको तुलनामा ३५.०२ प्रतिशतले घटी हो ।
नेपाली पुँजीबजारको इतिहासमा सेयर मूल्य मापक नेप्से परिसूचक बढेर करिब ३२ सय बिन्दुसम्म पुगेको छ । २०७८ भदौ २ गतेको बजारमा परिसूचक ३१९९.०३ बिन्दुमा थियो । जुन हालसम्मकै उच्चतम बिन्दु हो । त्यसको तुलनामा आजको परिसूचक ११२०.३३ अंकले घटेको हो ।
त्यस्तै, कारोबार रकम पनि सर्वाधिक कारोबारको तुलनामा ९४ प्रतिशतले घटी सकेको छ । २०७८ साउन ३१ गतेको बजारमा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आज १ अर्ब ३० करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ । जुन रकमको आधारमा २० अर्ब ३४ करोड ३ लाख रुपैयाँले घटी हो । यो अवधिसम्म आइपुग्दा लगानीकर्ताले खर्बौंको सम्पत्ति गुमाइसकेका छन् ।
शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको छ । बैंकको एकैदिन ६ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर ५.५० रुपैयाँले घटेर प्रतिकित्ता ७३९ रुपेयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नागरिक लगानी कोष छ । कोषको एकैदिन ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने सेयर मूल्य प्रतिकित्ता २ हजार ४६० रुपैयाँ छ ।
घट्दो बजारमा पनि दुई कम्पनीको सेयर मूल्य सर्किट लेभलमा सेयर कारोबार भएको छ । उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७५७ रुपैयाँ पुगेको छ भने बलेफी हाइड्रोको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता १६८.६० रुपैयाँ पुगेको छ । त्यस्तै, गुमाउनेको अग्रस्थानमा पनि लघुवित्त नै रहेको छ । किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.९५ प्रतिशतले घटेर प्रतिकित्ता ९१८ रुपैयाँमा झरेको छ । र, कारोबारमा आएका सबै समूहहरु राताम्मे देखिएका छन् ।
डा. कार्की भन्छन् : बजारमैत्री कार्यक्रम नल्याएसम्म सुधार दैखिँदैन
विभिन्न फ्क्याक्टर्सले असर पारिरहेको बजारलाई प्रोत्साहित गर्ने कार्यक्रम नल्याएसम्म बजार सुधारतर्फ नजाने धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवत बहादुर कार्की बताउँछन् । उनका अनुसार पहिलो त तरलताको अभाव समाधान हुनुपर्छ । पोलिसीमा रेसन्यालीटी हुनुपर्छ, सरकार पनि बढी सम्बेधनशील हुनुपर्छ । र, अनलाईन शुल्कहरुमा परिमार्जन गर्न आवश्यक देखिन्छ ।
घट्दो बजारमा लगानीकर्तालाई सन्देश
अर्थविद् समेत रहेका पूर्व अध्यक्ष डा. कार्कींले घटेको बजारमा लगानीकर्ताहरुलाई विभिन्न सन्देश दिएका छन् । यो अवस्थामा लगानीकर्ताहरुले संयमित भएर लगानी गर्नुपर्छ । विवेकशील लगानीकर्ताले प्रायः गुमाउँदैनन् । घट्दो बजारमा पनि उनीहरुले कमाउँछन् । त्यसैले बजारको अवस्था अनुसार स्टक होल्ड गर्ने हो की बेच्ने हो त्यो लगानीकर्ता आफैले निर्णय लिनुपर्छ । बजारलाई चलायमान बनाउन बजारको ट्रेण्ड हेरेर, पोलिसीअनुसार बजारको उतारचढावलाई मूल्यांकन गर्दै आफ्नो विवेक पुर्याउनुपर्छ ।
अहिलेको बजार तल्लो लेभलमा नै छ । लगानीकर्ताहरु अझै पनि आशावादी देखिन्छन् । पुँजीबजारलाई सम्बोधन गर्न नसकेको बजेटले अब मौद्रिक नीतिले केही गर्छ की भन्ने लगानीकर्तामा अझै छ ।