काठमाडौं । प्राथमिक बजारमा अब धमाधम आईपीओ निष्काशन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले एक पछि अर्को कम्पनीलाई धमाधम स्वीकृति दिएसँगै उनीहरुलाई सेयर निष्काशन तथा बिक्री गर्न बाटो खुला भएको हो ।
बोर्डले एक महिनामा मात्रै ५ वटा कम्पनीलाई आईपीओको अनुमति दिएको छ । जसमा एक लघुवित्त रहेको छ भने बाँकी सबै हाइड्रो पावर कम्पनीहरु रहेका छन् ।
यो जेठ महिना (१० गतेदेखि १८ गतेसम्म) मा मात्रै आदर्श लघुवित्त वित्तीय संस्था, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, सयपत्री हाइड्रो पावर र मन्दकिनी हाइड्रोपावरले आईपीओ स्वीकृति पाएका हुन् । यससँगै उनीहरुलाई प्राथमिक बजारमा सेयर बिक्री गर्न बाटो खुला भएको छ ।
स्वीकृति पाएका यी कम्पनीले कूल ६० करोड ७० लाख ७७ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छन् । जसमध्ये सबैभन्दा बढी श्वेतगंगा हाइड्रोले जारी गर्ने छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरका ३९ लाख ८२ हजार ५०० कित्ता सेयर अर्थात ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति पाएको हो ।
उक्त सेयर निष्काशन गर्न श्वेतगंगाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । जुन सेयर आयोजना प्रभावितका स्थानिय तथा सर्वसाधारणले भर्न पाउने छन् ।
त्यस्तै, राप्ती हाइड्रोले २९ करोड ४१ लाख रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
यता मन्दाकिनी हाइड्रोले सेयर निष्काशन गर्न बिओके क्यापिटल मार्केटलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । जसले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरका १७ लाख ६४ हजार ११० कित्ता सेयर निष्काशन गर्न बोर्डको अनुमति पाएको छ ।
त्यसैगरी, सयपत्री हाइड्रोपावरले ९ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । बोर्डको अनुमति पाएको कम्पनीले एनआईबीएल एस क्यापिटल मार्फत ९ लाख कित्ता सेयर निष्काशन गर्ने छ ।
लघुवित्तबाट अनुमति पाएको आदर्श लघुवित्तले पनि अब छिट्टै ६७ लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने छ । संस्थाले सो बराबरको ६७ हजार कित्ता सेयर जारी गर्न बिओके क्यापिटल मार्केटलाई सेयर निष्काशनकर्तामा नियुक्त गरेको छ ।
यससँगै, लघुवित्तको सेयर सर्वसाधारणले भर्न पाउने छन् भने बाँकी रहेका हाइड्रोको सेयर सम्बन्धित क्षेत्रका आयोजना प्रभावित बासिन्दालेसहित सर्वसाधारणले भर्न पाउने छन् ।
त्यस्तै, गत बैशाखमा मात्रै तीन हाइड्रोपावरले आईपीओको स्वीकृति पाएका हुन् । बोर्डले हिमालयन हाइड्रोपावर, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र अप्पर हेवाखोला हाइड्रोपावरलाई २०७९ बैशाखमा आईपीओे निष्काशन गर्नको लागि बाटो खुला गरिदिएको हो । जसमध्ये हिमालयन हाइड्रोले २२ लाख ५० हजार कित्ता, अप्पर सोलु हाइड्रोले ३३ लाख ७ हजार ५०० र अप्पर हेवाखोला हाइड्रोले २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएका हुन् ।
बोर्डले चालु आर्थिक वर्षमा मात्रै विभिन्न कम्पनीहरुलाई ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । २०७८ साउनदेखि २०७९ जेठ २१ गतेसम्ममा २२ वटा कम्पनीले ५ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति पाएका हुन् । जसमध्ये अधिकांश कम्पनीले जारी गरिसकेका छन् भने केहीले बिक्री खुला गर्न बाँकी छ ।