काठमाडौं । बीमा समितिले २०७९ असारभित्र मर्जरको प्रकृयामा जाने बीमा कम्पनीहरुलाई विभिन्न सेवा सुविधामा छुट दिने भएको छ । समितिले मर्जरमा जान इच्छुक कम्पनीलाई पुँजीगत लाभकर, लाभांश कर र कर्मचारी अवकाश भुक्तानीमा कर छुट दिने भएको हो ।
समितिका अनुसार कम्पनीहरु गाभिएपश्चात बनेको नयाँ कम्पनीका सेयरधनीहरुले आफ्नो सेयर गाभिएको मितिले दुई वर्षभित्र बिक्री गर्दा बिक्री भएको सेयरमा पुँजीगत लाभकर नलाग्ने भएको छ ।
त्यस्तै, कम्पनीहरुमा मर्ज भएको मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको सेयरधनीलाई वितरण गरेको लाभांशमा समेत कर नलाग्ने समितिले जानकारी गराएको ।
अर्को, मर्जरको प्रकृयामा रहेका बीमा कम्पनीहरुले कर्मचारीहरुको अवकाश भुत्तानीमा ५० प्रतिशत कर छुट दिनु पर्ने छ । यससँगै, कम्पनीहरुले कर्मचारीहरुलाई सामुहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनको लागि गरिने थप एकमुष्ट भुत्तानीमा एकमुष्ट अवकाश भुत्तानी कर कट्टी गर्नुपर्नेमा ५० प्रतिशत छुट हुने भएको हो ।
यो सुविधा आयकर ऐन, २०५८ अनुसार २०७९ असार मसान्तभित्र मर्जरमा जाने आशयपत्र आन्तरिक राजस्व विभागमा दिएका कम्पनीहरुले मात्रै पाउने छन् । र, उक्त आशयपत्र दिएका कम्पनीहरुले आगामी २०८० असार मसान्तभित्र मर्जरको प्रकृया सम्पन्न गरिसक्नु पर्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी गराएका छन् ।
साथै, चुक्ता पुँजी पुर्याउन मर्जरमा जाने कम्पनीहरुले आयकर ऐन २०५८ को दफा ४७ अनुसारको छुट तथा सुविधा समेत पाउने छन् । जसको लागि उनीहरुले २०७९ असारभित्र बीमा समितिमा आवेदन दिइसक्नुपर्ने समितिले जानकारी गराएको छ ।
सम्बन्धित समाचार