काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका गुनासोहरुलाई आगामी मौद्रिक नीतिमा सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले मौद्रिक नीतिमा आएका गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका हुन् ।
‘मौद्रिक नीतिमा समावेश भएका गुनासोहरु यथोचित सम्बोधन गरेर पुँजीबजारको विकासमा सहजीकरण गर्नुपर्ने छ,’ उनले भने ।
बजार विकासको लागि नियमनकारी संस्थाहरुबीचको समन्वयनको खाँचो रहेको बताउँदै उनले सबै नियमनकारी संस्थाहरुलाई समन्वयन गरेर काम गर्न आग्रह गरेका छन् । उनले राष्ट्र बैंक, बीमा समिति र धितोपत्र बोर्डबीचको अन्तरसम्बन्ध समन्वयात्मक सहकार्य गर्नको आग्रह गरेका हुन् ।
पुँजीबजारमा नयाँ नेतृत्व आएपछि सकारात्मक प्रयासहरु भइरहेको र ती प्रयासमा थप तीव्रता दिन आवश्यक रहेको उनले बताए ।
हरेक नियमनकारी संस्थाहरुमा जवाफदेहीताको सहितको स्वायत्ता हुनुपर्ने छ ।
नेपाल सरकारअन्तर्गतका जुनसुकै नियमनकारी निकायका संस्थाहरुलाई जवाफदेहीताको सहितको स्वायत्ताको उपयोग गर्न अपिल गरेका छन् ।
धितोपत्र बजारको आजको समस्याको समाधान गर्नको लागि नेपालको पुँजीबजारललाई अन्तर्राष्ट्रिय प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता छ । त्यो आधुनिक प्रविधिको अभावमा नेपालको धितोपत्र बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेर्न सक्ने प्रयास गर्नुपर्छ ।
‘म अर्थमन्त्रालय आएदेखि सबैभन्दा पहिला पुँजीबजार सुधार गर्ने विषय उठाएको थिएँ, र, समस्याहरुको पहिचान गर्न सचिवज्यूहरुसँगको व्यापक छलफल गरियो । र, पहिचान गरेर त्यसलाई नयाँ ढंगले अघि बढ्ने काम गरिएको छ’, उनले भने ।
बजारमा प्रविधिको आवश्यक रहेको छ, त्यसको लागि नियमनकारी संस्थाहरुलाई सहजीकरण गर्न अर्थमन्त्रालय तयार रहेको उनले बताए । भौतिक पूर्वाधारको विषयमा पनि अर्थमन्त्रालयले सहजीकरण गर्ने उनले बताए ।
स्वचालित कारोबार प्रणालीलाई विश्वसनीय बनाई लगानीकर्तालाई सहज रुपमा कारोबार गर्ने वातावरण बनाउनु पर्ने बताउँदै उनले धितोपत्र बजारसम्बन्धी जनचेतनाका कार्यक्रम अपर्याप्त भएकोले लगानीकर्ताहरुले समस्या भोग्नुपरेको समेत बताए ।