पाँच वर्षदेखि ९ जीवन बीमा कम्पनीको लाभांश शून्य, नेपाल लाइफले दियो २११ प्रतिशत

<p>काठमाडौं । १९ वटा जीबन बीमा कम्पनीमध्ये ७ वटाले मात्र विगत ५ वर्षमा सेयरधनीलाई लाभांश दिएका छन् । ९ वटा कम्पनीले कुनै पनि प्रकारका लाभांश दिन सकेका छैनन् । नगद लाभांश दिन नसक्ने ३ वटा कम्पनीले सेयरधनीलाई बोनस सेयर मात्र वितरण गरेका छन् । विगत पाँच वर्षको अवधिमा सबैभन्दा बढी लाभांश नेपाल लाइफ इन्स्योरेन्सले वितरण [&hellip;]</p>

काठमाडौं । १९ वटा जीबन बीमा कम्पनीमध्ये ७ वटाले मात्र विगत ५ वर्षमा सेयरधनीलाई लाभांश दिएका छन् । ९ वटा कम्पनीले कुनै पनि प्रकारका लाभांश दिन सकेका छैनन् । नगद लाभांश दिन नसक्ने ३ वटा कम्पनीले सेयरधनीलाई बोनस सेयर मात्र वितरण गरेका छन् ।

विगत पाँच वर्षको अवधिमा सबैभन्दा बढी लाभांश नेपाल लाइफ इन्स्योरेन्सले वितरण गरेको छ । आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको तथ्यांक अनुसार नेपाल लाइफले कूल २११ प्रतिशत लाभांश वितरण गरेको हो ।

अधिकांश सूचकमा अन्य कम्पनीभन्दा अग्रस्थानमा रहेको कम्पनीले समीक्षा अवधिमा १३७ प्रतिशत बोनस सेयर र ७४.०४६८ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

त्यस्तै, सर्वाधिक लाभांश वितरण गर्नेको दोश्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । कम्पनीले ५ वर्षको अवधिमा कूल १४०.०३ प्रतिशत लाभांश वितरण गरेको छ । जसमध्ये १०१ प्रतिशत बोनस सेयर रहेको छ भने ३९.०३८९ प्रतिशत नगद लाभांश छ ।

५ वर्षको लाभांश इतिहास हेर्दा नेशनल लाइफ र प्राइम लाइफ, सूर्या लाइफ र एशियन लाइफबीच नेक टु नेक प्रतिस्पर्धा देखिएको छ । जसमा नेशनल लाइफले ८५ प्रतिशत लाभांश वितरण गर्दा प्राइम लाइफले ८१.५३ प्रतिशत लाभांश वितरण गरेको छ । त्यस्तै, सूर्या लाइफका सेयरधनीले ५ वर्षको अवधिमा ५८.५२ प्रतिशत लाभांश पाएका छन् भने एशियन लाइफका इन्स्योरेन्सले ५२ प्रतिशतश लाभांश पाएका छन् ।

समीक्षा अवधिमा अधिकांश कम्पनीले बोनस सेयरलाई बढी प्राथमिकता दिएका छन् । उनीहरुले कम्पनीको पुँजी वृद्धिको लागि नगद लाभांशलाई भन्दा बोनसलाई बढी फोकस गरेका हुन् ।

तर रिलायन्स लाइफले भने हालसम्म बोनस सेयर वितरण गरेको छैन । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश मात्र वितरण गरेका छ । योभन्दा बाहेक कम्पनीका सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण गरेको छैन ।

१३ वटा बीमा कम्पनीले पाँच वर्षसम्म दिन सकेनन् नगद लाभांश, दिनेले पनि ज्यादै न्यून मात्र

यता यूनियन, प्रभु, मेट लाइफ र राष्ट्रिय बीमा संस्थानले ५ वर्षको अवधिमा एक पटक पनि लाभांश वितरण गरेका छैनन् । जसमा मेटलाइफ विदेशी कम्पनी हो, जसले नेपालमा शाखा मार्फत जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।

त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले वर्षौंअघि देखिको लेखापरीक्षण प्रतिवदन स्वीकृत गराएको छैन । जसले गर्दा कम्पनीले साधारण सभा गर्न पाएको छैन ।

हाल नेपाली बजारमा १९ वटा जीवन बीमा कम्पनीहरु छन् । जसमध्ये अधिकांश कम्पनी दोश्रो बजारमा सूचीकृत छन् भने केही कम्पनी सूचीकृत हुन बाँकी छन् । सन नेपाल लाइफ, महालक्ष्मी, सिटिजन्स, आईएमई र रिलायबल लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्न बाँकी रहेको छ । उनीहरूले पनि सेयरधनीलाइ लाभांश दिएका छैनन् ।  

Share News