काठमाडौं । एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्तालाई बीमा समितिले मर्जमा जान वा सेयर बेच्न निर्देशन दिएको छ । दुईमध्ये एक विकल्पमा नगए सम्बन्धित बीमा कम्पनीको व्यवसायिक कारोबार रोक्कासम्मको कारवाही गरिने चेतावनी समेत बीमा समितिले दिएको छ ।
बीमा समितिले गत साता समान सेयरधनी भएका कम्पनीका सञ्चालक र सीईओहरुलाई बीमा समितिमा बोलाएर मर्जमा जान वा एउटा कम्पनीको सेयर रोजेर बाँकी कम्पनीको सेयर बेच्न निर्देशन दिएको थियो । लगत्तै बीमा समितिले साझा सेयरधनी (चल्तीको भाषामा क्रस होल्डिङ) देखिएका कम्पनीहरुलाई तीन बुँदे लिखित निर्देशन पठाएको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए ।
६ वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीहरुलाई यस्तो पत्र पठाइएको बीमा समितिले जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, आईएमई लाइफ, रिलायवल लाइफ, ज्योति लाइफ, सूर्या लाइफ, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई यस्तो पत्र पठाएको बीमा समिति उच्च स्रोतले जानकारी दियो ।
बीमा समितिका अनुसार नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कम्पनी नेपालमा धेरै प्रवद्र्धक समान रहेका छन् । आईएमई लाइफ र रिलायवल लाइफ इन्स्योरेन्समा पनि धेरै प्रवद्र्धक समान छन् । त्यस्तै, ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्समा समान प्रवद्र्धक सेयरधनी रहेका छन् । नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा पनि समान प्रवद्र्धक रहेको बीमा समितिले जनाएको छ ।
बीमा समितिले केही महिनाअघि सबै बीमा कम्पनीसँग शुन्य दशमलव ५ प्रतिशतभन्दा बढी सेयर लिएका लगानीकर्ताको विवरण माग गरेको थियो । उक्त विवरणको अध्ययनपछि समितिले ९ वटा कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएको हो ।
अहिले सेयर बेच्ने अवस्था नभएकोले कम्पनीहरुले मर्जरको बाटो रोज्नु उपयुक्त हुने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले विकासन्युजसँग भने । निर्देशनअनुसार मर्ज वा सेयर बिक्री नभए बीमा ऐन अनुसार कारवाही गरिने उनले बताए ।
‘नियामकले दिएको निर्देशन पालना हुन्छ भन्नेमा हामी विश्वस्त छौं, बीमा समितिले दिएको निर्देशन पालना भएन भने के हुन्छ भन्ने कुरा कानुनमा लेखिएकै छ नि’ अध्यक्ष सिलवालले बताए ।